
श्रेणी : अपराध
जनकपुर,०८ साउन । महोत्तरी प्रहरीले जबरजस्ती करणी र अवैध गर्भपतन मुद्दामा बर्दिबासका एक चिकित्सकलाई पक्राउ गरेको छ। पक्राउ परेका व्यक्ति बर्दिबासस्थित डी एन बी मेडिकेयर सेन्टरमा कार्यरत ४१ वर्षीय डा. प्रविण मिश्र हुन्।
जलेश्वर अदालतबाट साउन ५ गते पक्राउ अनुमति पाएसँगै इलाका प्रहरी कार्यालय बर्दिबासले उनलाई बिहीबार पक्राउ गरेको महोत्तरीका प्रहरी नायब उपरीक्षक शैलेन्द्रकुमार भट्टले जानकारी दिए। पक्राउपछि अदालतबाट म्याद थप गरेर थप अनुसन्धान अघि बढाइने प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार डा. मिश्रले १६ वर्षीया किशोरीको १० हप्ताको गर्भपतन गराउँदा अत्यधिक रक्तस्राव भई किशोरी अचेत भएकी थिइन्। किशोरीका अभिभावकले इलाका प्रहरी कार्यालय बर्दिबासमा जबरजस्ती करणीको जाहेरी दिएका थिए। जाहेरीमा किशोरीसँग जबरजस्ती करणी गरेर गर्भवती बनाइएको र पछि घटना लुकाउन प्रक्रिया पूरा नगरी गर्भपतन गराएको आरोप लगाइएको छ।
प्रहरीका अनुसार अनुसन्धानका क्रममा चिकित्सकले कानुनी प्रक्रिया पालना नगरी कम उमेरकी किशोरीको गर्भपतन गराएको प्रमाण फेला परेको छ। यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


प्रतिक्रिया