
श्रेणी : अर्थ
बीरगन्ज,०४ साउन । बीरगन्जस्थित आन्तरिक राजस्व कार्यालयले गत आर्थिक वर्ष (२०८१/८२) मा ९ अर्ब ४६ करोड रुपैयाँभन्दा बढी राजस्व सङ्कलन गरेको छ। यो अघिल्लो वर्षको तुलनामा २ अर्ब ५८ करोड रुपैयाँले बढी हो।
कार्यालयका प्रमुख कर अधिकृत टीकाराज चौलागाईंका अनुसार अघिल्लो वर्षको तुलनामा राजस्व सङ्कलनमा ३५.५७ प्रतिशतको वृद्धि भएको छ। विभागले यस कार्यालयलाई ८ अर्ब ७२ करोड रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य दिएकोमा कार्यालयले त्यसको १०९ प्रतिशत लक्ष्य पुरा गरेको छ।
“गत वर्षका तुलनामा यसपटक बक्यौता असुलीमा कडाइ, कर नतिर्ने करदाताको बैंक खाता र सम्पत्ति रोक्का, आयात–निर्यात कारबाहीजस्ता कदमले राजस्व सङ्कलनमा ठूलो मद्दत पुगेको हो,” प्रमुख कर अधिकृत चौलागाईंले बताए। साथै, बजार अनुगमन र करदाता शिक्षा तथा चेतनामूलक कार्यक्रमले पनि राजस्व वृद्धि भएको उनले उल्लेख गरे।
गत वर्ष अन्तःशुल्कतर्फ ३ अर्ब १० करोड सङ्कलन गर्ने लक्ष्य राखिएकोमा ४ अर्ब १४ करोड रुपैयाँ सङ्कलन भएको छ। आयकरतर्फ २ अर्ब ९० करोडको लक्ष्य राखिएकोमा ३ अर्ब १० करोड उठाइएको छ। तर, मूल्य अभिवृद्धि कर (भीएटी) मा भने २ अर्ब ५९ करोडको लक्ष्य राखिए पनि २ अर्ब १३ करोड रुपैयाँ मात्रै सङ्कलन भएको छ।
यस वर्ष लक्ष्यअनुसार भीएटी सङ्कलन हुन नसकेको कारणबारे प्रमुख चौलागाईंले १५ वटा करदाताको कारोबार सीमा नाघी ठूला र मध्यमस्तरीय करदाता कार्यालयमा सरुवा भएकाले राजस्व सङ्कलनमा प्रभाव परेको बताए।
गत वर्ष विभागले ९ अर्ब ४२ करोड रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य राखेकोमा केवल ६ अर्ब ८७ करोड रुपैयाँ मात्रै सङ्कलन भएको थियो। यसपटक भने वीरगञ्ज आन्तरिक राजस्व कार्यालयले आफ्नो लक्ष्य पार गर्दै राजस्व सङ्कलनमा सन्तोषजनक प्रगति गरेको छ।


प्रतिक्रिया