
श्रेणी : मधेस
बीरगन्ज,०३ साउन । बाराको कलैया उपमहानगरपालिकामा खानेपानी संकट चर्किएको छ। पछिल्लो समय लामो खडेरीका कारण विभिन्न वडाहरूमा चापाकलहरू सुक्न थालेपछि स्थानीय बासिन्दा दैनिक जीवनमा अत्यन्तै कठिनाइमा परेका छन्।
विशेषगरी वडा नं. १७ अन्तर्गत ठुलो ब्रह्मपुरी र सानो ब्रह्मपुरी क्षेत्रमा अधिकांश चापाकलमा पानी आउन छाडेको छ। करिब तीन सय घरधुरी रहेका टोलमा अधिकांशको चापाकल सुकिसकेका छन्। यसले गर्दा खाना पकाउने, लुगा धुने, नुहाउने लगायतका काममा समस्या निम्तिएको स्थानीय सरोज साहले जानकारी दिए।
“कहिलेकाहीं पानी परेपछि थोरै पानी आउँछ, नत्र चापाकल सुकेको हुन्छ,” उनले भने। अहिले अधिकांश घरका मानिसहरू छिमेकीका घरमा पानी माग्न, खेततिर पम्पिङ गरेर पानी ल्याउन वा खोला नजिकका चापाकल प्रयोग गर्न बाध्य छन्। स्थानीय अजय कुशवाहाका अनुसार कालोपत्रे सडकको पूर्वतर्फका चापाकल पूर्ण रूपमा सुकेका छन् भने पश्चिमतर्फका केही चापाकलमा मात्र पानी आइरहेको छ। “एक सय १६ फिट गहिरोमा गाडिएको चापाकलसमेत सुक्दै जानु चिन्ताको विषय हो,” उनले भने।
यो समस्या केवल व्यक्तिगत वा एउटा टोलको मात्र नभई उपमहानगरकै साझा समस्या बन्दै गएको छ। स्थानीयबासीले नगरपालिकासँग तत्काल वैकल्पिक पानी स्रोतको व्यवस्था मिलाउन माग गरेका छन्। यदि चाँडै समाधान खोजिएन भने स्वास्थ्य र सरसफाइका दृष्टिले थप संकट निम्तिने देखिएको छ।


प्रतिक्रिया