वीरगन्ज :

नक्कली फुकुवा आदेश बनाएर रोक्का जग्गा बेच्ने चौधरी पक्राउ

श्रेणी : अपराध

2 months
Pradeep Sah
2.3kViews
1037 Shares

बीरगन्ज,०२ साउन । बारा जिल्ला अदालतको नाममा नक्कली फुकुवा पत्र बनाइ रोक्का गरिएको जग्गा बिक्री गरेको अभियोगमा संजित चौधरी पक्राउ परेका छन्। उनीमाथि कागजात कीर्ते र ठगीको आरोपमा अनुसन्धान सुरु गरिएको छ।

जितपुर सिमरा उपमहानगरपालिका–१ निवासी संजित चौधरीले अदालतको छाप, लेटरप्याड, दस्तखत र चलानी नम्बर जालसाजी गरी फुकुवा आदेशजस्तो देखिने नक्कली पत्र तयार पारेका थिए। त्यसको आधारमा उनले रोक्का रहेको जग्गा फुकुवा गराई बिक्री गरेको खुलासा भएको हो।

बारा जिल्ला अदालतका श्रेस्तेदार लालबहादुर कार्कीका अनुसार, संजितले पुरानो फुकुवा आदेशको प्रतिलिपि प्रयोग गरेर मिल्दोजुल्दो भाषा टाइप गरी, अदालतको छाप र दस्तखत स्क्यान गरेर जालसाजी गरेका थिए।

उक्त कागजात देखाएर उनले सिमरा मालपोत कार्यालयबाट कित्ता नं. ५४३ को ०–७–० क्षेत्रफलको जग्गा फुकुवा गराई दिपेन्द्र कुमार गुप्तालाई बिक्री गरेका थिए।

उक्त जग्गामा पहिल्यैदेखि पवन साह र चन्द्रिका धामीबीचको लेनदेन विवादका कारण अदालतले रोक्का आदेश दिएको थियो। तर, त्यो आदेश कायमै रहँदा पनि नक्कली फुकुवा देखाएर संजितले अवैध रूपमा कारोबार गरेको प्रहरीले जनाएको छ।

संजित चौधरीले प्रारम्भिक बयानमा कागजात आफैंले बनाएको स्वीकार गरिसकेका छन्। तर, घटनामा संलग्न देखिएका उनका बुवा मोतिधामी थारु फरार छन्। प्रहरीले खोजी तीव्र पारेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *