
श्रेणी : BANNER
जनकपुर,०१ साउन । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले पूर्वसामान्य प्रशासन मन्त्री राजकुमार गुप्तालाई मधेशी मूलको भएकै कारण राजीनामा दिन बाध्य पारिएको दाबी गरेका छन्।
सामाजिक सञ्जाल फेसबुकमा धारणा सार्वजनिक गर्दै यादवले भूमि व्यवस्था मन्त्री बलराम अधिकारी र गुप्ताप्रति सरकारले फरक मापदण्ड अपनाएको आरोप लगाए।
राजकुमार गुप्ताको घुससम्बन्धी अडियो सार्वजनिक भएपछि प्रधानमन्त्रीको निर्देशनमा उनले राजीनामा दिएका थिए। तर, त्यसै प्रकृतिको अडियो बलराम अधिकारीको समेत बाहिरिए पनि उनले राजीनामा दिनु नपरेकोमा यादवले आपत्ति जनाएका छन्।
यादवले लेखेका छन्, “ढुक्क हुनुस्, भूमि मन्त्री बलराम अधिकारीले राजीनामा दिनु पर्दैन। बालुवाटार र च्यासलको शिरमा ‘बा’ को राज रहुन्जेल उनका सगोत्री पार्टनरहरूलाई जे गर्न पनि छूट छ।”
उनको आरोप छ कि अधिकारी र गुप्ता दुवै समान प्रकृतिको अडियो प्रकरणमा मुछिए पनि गुप्तालाई मधेशी भएकैले राजीनामा गराइयो, तर अधिकारीलाई उन्मुक्ति दिइयो। यादवले भनिरहेका छन्, “बिचौलिया, कमिशनखोर र भ्रष्टाचारका संरक्षक ‘बा’ को सगोत्री भएकै कारण अधिकारीले ठूला काण्ड गरे पनि उनीहरू उन्मुक्त रहन्छन्।”
यादवका अनुसार यदि बलराम अधिकारीको ठाउँमा कुनै मधेशी, थारु, दलित वा जनजाति समुदायको व्यक्ति मन्त्री भएको भए प्रधानमन्त्री ओलीले तत्काल राजीनामा गराउन निर्देशन दिइसक्ने थिए।


प्रतिक्रिया