बीरगंज — नेकपा एमाले मधेश प्रदेश अध्यक्ष चन्देश्वर मण्डलले पार्टीले मन्त्री फिर्ता बोलाउने वा हटाउने कुनै निर्णय नगरेको प्रष्ट पारेका छन्। शनिबार बर्दिबासको गौतम होटलमा सम्पन्न प्रदेश कमिटीको बैठकपछि बोल्दै उनले केही मिडियामा आएको समाचारलाई गलत र भ्रामक भनेका हुन्।
“मन्त्रीहरू फिर्ता गर्ने कुनै कुरा भएको छैन,” अध्यक्ष मण्डलले भने, “अझै कुनै एउटा मन्त्री मात्रै फिर्ता गर्ने भन्ने त झन् सरासर झुट हो। किन एमालेबारे यस्तो भ्रम फैलाइन्छ ?” उनले एमाले मधेशमा लोकप्रिय दल भएकाले केही मिडियालाई यो कुरा मन नपरेको टिप्पणी गरे।
प्रदेश कमिटीका सचिव मनोज पौडेलका अनुसार बैठकमा सबै मन्त्रीहरूको कार्यकाल, व्यवहार र प्रदर्शनको बारेमा सामान्य छलफल मात्रै भएको हो। “मन्त्रीहरूको व्यवहार अलिकति रुखो भएको र समय पनि भएकोले सबैलाई फेरि फिर्ता गर्ने कि भन्ने सामान्य कुरा उठेको थियो,” पौडेलले भने, “पार्टीले भनेर मात्रै मन्त्री फिर्ता हुने होइन, पार्टीको आधिकारिक एजेन्डा पनि बनेको छैन।”
केही सञ्चारमाध्यमले खेलकुद तथा समाज कल्याण मन्त्री प्रमोद जयसवाललाई हटाउने निर्णय भएको भनेर समाचार प्रकाशित गरेका थिए। तर प्रदेशका शीर्ष नेताहरूले यसलाई असत्य र तथ्यविहीन भनेका छन्।
बैठकमा प्रदेश अध्यक्ष मण्डल, प्रदेश इन्चार्ज एवं सांसद लिलानाथ श्रेष्ठ, सांसद ज्वाला साह, जुलि महतो, प्रभु हजारा लगायत आठै जिल्लाका इन्चार्जहरूको उपस्थिति थियो। कार्यक्रममा उपाध्यक्ष बिचारी यादवले स्वागत मन्तव्यका क्रममा मन्त्री जयसवालको नामै लिएर पार्टीका मन्त्रीहरूलाई जनतासँग नरम व्यवहार राख्न सुझाव दिएका थिए।
प्रदेश नेतृत्वले स्पष्ट पारेको छ — कुनै एउटै मन्त्री हटाउने निर्णय छैन, पार्टीले समग्र प्रदर्शन र आवश्यकता हेरेर मात्रै निर्णय लिनेछ।
प्रतिक्रिया