
श्रेणी : कृषि
बीरगन्ज,२८ असार । मधेश प्रदेशमा यस वर्षको धान रोपाइँ सुस्त गतिमा भइरहेको छ। हालसम्म कुल खेतीयोग्य जमिनको ३३.७८ प्रतिशत मात्र रोपाइँ सम्पन्न भएको छ। तर, यस प्रदेशभित्र पर्सा जिल्लाले ७३.३४ प्रतिशत रोपाइँ गरेर अग्रता लिएको छ।
कृषि विकास निर्देशनालयका वरिष्ठ बागवानी अधिकृत प्रदीपकुमार यादवका अनुसार, पर्सा जिल्लामा ३९ हजार ७३१ हेक्टर जमिनमा धान खेती हुने गरेकोमा शुक्रबारसम्म ७३.३४ प्रतिशत जमिनमा धान रोपाइँ सकिएको छ। समग्र मधेश प्रदेशको अवस्था हेर्दा, कुल ३ लाख ७२ हजार ६४५ हेक्टर जमिनमा धान खेती हुने गरेकोमा शुक्रबारसम्म १ लाख २५ हजार ८८८।६ हेक्टर अर्थात् ३३ प्रतिशत जमिनमा मात्र रोपाइँ भएको छ।
सबैभन्दा कम रोपाइँ सप्तरीमा भएको छ, जहाँ ८१ हजार ६६८ हेक्टर कुल खेतीयोग्य जमिनमध्ये ६८ हजार हेक्टरमा धान खेती हुँदै आएकोमा हालसम्म १६ प्रतिशत मात्र रोपाइँ भएको छ।अन्य जिल्लाहरूको अवस्था हेर्दा, धनुषामा २५ प्रतिशत, सिरहामा २९ प्रतिशत, बारामा ४० प्रतिशत, रौतहटमा ४५ प्रतिशत, सर्लाहीमा ४० प्रतिशत र महोत्तरीमा १८ प्रतिशत जमिनमा धान रोपाइँ भइसकेको छ।
सिँचाइको अभाव नै मुख्य चुनौती रहेको अधिकृत यादवले बताए। मधेशमा कुल ५ लाख ४२ हजार ५८०.७८ हेक्टर खेतीयोग्य जमिन छ, जसमध्ये ३ लाख ७२ हजार ६४५ हेक्टरमा धान खेती हुन्छ। तर, २५ प्रतिशत जमिनमा पनि सिँचाइको सुविधा नभएको उनले औंल्याए। “प्रमुख चुनौती नै सिँचाइ हो। सिँचाइ नभएसम्म किसानले रोपाइँ गर्न सक्दैनन्,“ उनले भने, “बिउ र मल त जेनतेन पाइहाल्छ, सिँचाइ मुख्य समस्या हो।“
धान बाली अनुसन्धान केन्द्रबाट अवकाशप्राप्त डा। रामवरण यादवले पनि मुख्य समस्या सिँचाइ नै रहेको दोहो¥याए। सरकारले ७० प्रतिशत जमिनमा सिँचाइ भएको दाबी गरे पनि वास्तविकतामा ३० प्रतिशत जमिनमा मात्रै सिँचाइ रहेको उनको दाबी छ। “यहाँका किसान सधैँ आकाशे पानीकै भरमा छन्। यसपालि अहिलेसम्म पानी परेन,“ उनले भने, “त्यही भएर रोपाइँ हुन सकेको छैन।“
मधेश प्रदेश सरकारले प्रदेशलाई सुख्खा क्षेत्र घोषणा गरिसकेको छ। बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले मधेशलाई सुख्खा क्षेत्र घोषणा गर्दै संघीय सरकारसँग सहयोगका लागि अनुरोधसमेत गरेको छ। सरकारले किसानहरूलाई राहत दिने मनसाय बनाएको भए पनि स्रोत निर्धारण भइसकेको छैन।


प्रतिक्रिया