वीरगन्ज :

सिमलताल बस दुर्घटनाको एक वर्षपछि पनि सिफारिस कागजमै सीमित

श्रेणी : प्रदेश

3 months
Pradeep Sah
1.7kViews
1450 Shares

चितवन,२८ असार । नारायणगढ–मुग्लिन सडकखण्डको सिमलतालमा दुई बस लेदो र पहिरोसँगै त्रिशूलीमा बगेको दर्दनाक दुर्घटनालाई एक वर्ष पूरा हुँदैछ। तर, सो घटनापछि बनाइएको उच्चस्तरीय समितिको सिफारिसहरू अझै कार्यान्वयनको पर्खाइमै छन्।

गत वर्ष असार २८ गते बिहान साढे ३ बजेतिर भएको घटनामा गणपति यातायात र एञ्जल यातायातका दुईवटा बस त्रिशूलीमा बेपत्ता भएका थिए। बसमा ६२ जना सवार थिए, जसमा १९ जनाको मात्र शव फेला परेको थियो । तीन जना मात्र सकुशल उद्धार भएका थिए भने बाँकी ४० जना अझै बेपत्ता छन्।

दुर्घटनापछि नवनियुक्त गृहमन्त्री रमेश लेखकले पहिलो निर्णयकै रूपमा अध्ययन समिति बनाएका थिए। छवि रिजालको संयोजकत्वमा बनेको ६ सदस्यीय कार्यदलले साउन २३ गते गृह मन्त्रालयमा ४४ पृष्ठको प्रतिवेदन बुझाएको थियो। तर, त्यो प्रतिवेदनको सिफारिस र सुझावहरूको अवस्थाबारे हेर्दा सरकारको तयारी र गम्भीरता प्रति गम्भीर प्रश्न उठेको छ।

समितिले मुख्य कारणको रूपमा दुर्घटना क्षेत्रमाथि खनिएको सहायक सडकबाट आएको लेदो–पहिरोलाई दोष दिएको थियो। सार्वजनिक सडक ऐन २०३१ अनुसार, सडक विभागको अनुमति बिना यस्ता सडक खोल्न नपाइने भए पनि सो ऐनको पालना नभएको स्पष्ट गरिएको छ।

सडक विभागका प्रवक्ताका अनुसार सहमति लिएर सहायक सडक खनिएको हालसम्मका उदाहरण दुर्लभ छन्। चितवन डिभिजन सडक कार्यालयका अनुसार पछिल्लो समय त्यस्तो सडक नखने देखिएको भए पनि नियन्त्रण अझै कमजोर छ।

सशस्त्र प्रहरीलाई अत्यावश्यक उपकरण थप गर्नुपर्ने सिफारिस कार्यान्वयन भएको छैन। खोज उद्धारमा प्रयोग हुने मोटरबोट, लाइफ ज्याकेट, राडार उपकरण लगायतका कुनै पनि नयाँ साधन थपिएको छैन। सशस्त्र प्रहरीका अनुसार अहिले पनि उस्तै साधनसहित उनीहरू उद्धारमा खटिन बाध्य छन्।

“हिजो जे थियो, आज पनि त्यही हो,” एसपी जनक पुरीले भने। शक्तिशाली ६० HP मोटरबोटको आवश्यकता समितिले औंल्याए पनि अहिले ४० HP को पुरानै मोटरबोट चलाइँदै छ।

दुर्घटनापछि त्रिशूली नदीको पिँधको नक्सांकन र हराएका बस खोज्नुपर्ने सिफारिस कार्यान्वयन हुन सकेन। सशस्त्र प्रहरीका अनुसार योजना त बनिरहेको छ, तर अहिलेसम्म कुनै प्रत्यक्ष कार्य सुरु भएको छैन।

गृह सचिव गोकर्णमणि दुवाडीले उपकरण व्यवस्थापनमा ढिलाइको कारण बजेट र स्रोतको अभाव रहेको बताए। तर, संकटका बेला यस्ता कारणहरूले जनताको ज्यान गुमाउने अवस्था दोहोरिने हो कि भन्ने चिन्ता जनतामा बढ्दो छ।

दुवै बसका ६२ यात्रुहरूमध्ये १९ जनाको शव मात्र फेला परेको छ। बाँकी ४० जना अझै पनि बेपत्ता छन्। भारतीय टोलीसमेत आएर खोजी गरिए पनि त्रिशूलीको उर्लँदो बहाव र धमिलो पानीले कठिनाइ भयो। अन्ततः खोजी कार्य रोकियो। अहिले सम्म पनि हराएका गाडी र शव कहाँ छन् भन्ने प्रश्न अनुत्तरित छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *