
श्रेणी : मधेस
बारा,२६ असार । ‘सुशासन, पारदर्शिता, जवाफदेहिता कलैया उपमहानगरको प्रतिबद्धता’ नारासहित कलैया उपमहानगरपालिकाले वडा नम्बर २७ मा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ। बरवा टोलस्थित श्री नेरा आधारभूत विद्यालयमा भएको कार्यक्रममा स्थानीय बासिन्दाहरूले नगर सरकारसँग प्रत्यक्ष संवाद गरी आफ्ना जिज्ञासा र गुनासा राख्ने अवसर पाए।
नगर प्रमुख बिनोद साहले कार्यक्रममा उठेका सबै प्रश्नहरूको जवाफ दिँदै आफू सरसफाइ, शिक्षा, कृषि र किसानको विकासमा सक्रिय रहेको बताए। उनले अब शहरी क्षेत्रको विकासपछि ग्रामीण भेगमा पूर्ण ध्यान केन्द्रित गर्ने प्रतिबद्धता व्यक्त गरे। प्रमुख प्रशासकीय अधिकृत नाथु साहले राजस्व संकलनमा कमी आउँदा जनताको चाहनालाई पूर्ण रूपमा समेट्न समस्या भएको स्वीकार गरे। उनले सीमित स्रोत साधनका बाबजुद अधिकतम जनताको भावनालाई समेट्ने प्रयास गरिएको जानकारी दिए।
सुनुवाइका क्रममा नागेन्द्र कुश्वाहा, बलिराम चौधरी, राज बन्सी सहनी, जोधालाल सहनी, बन्शी मियाँ, जवाहरलाल सहनी, छोटेलाल महतो, भगिया देवी, द्वारिका सहनी, शर्मा सहनी, उमेश सहनी, हृदय नारायण कुश्वाहा, अनरजित चौधरी, हरि सहनी, जिरा महतो कोइरी, उमाशन्कर चौधरी, सुकदेव यादव, शम्भु पटेल, बलिराम यादव, अजय तिवारी लगायतका स्थानीयले विभिन्न प्रश्न तथा जिज्ञासा राखेका थिए।
सेवा प्रदायक संस्था आईएसआरपिटीका अध्यक्ष जितेन्द्र यादवले स्वागत मन्तव्य दिँदै यस सार्वजनिक सुनुवाइले पालिकाबाट प्रवाह हुने सेवाको सहजता, योजनाहरूको कार्यान्वयन, पारदर्शिता, जवाफदेहीता र निर्णय प्रक्रियामा लोकतान्त्रिक सहभागिताका लागि एक महत्वपूर्ण संयन्त्रको रूपमा काम गर्ने बताए।
वडा अध्यक्ष अशोक तिवारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नगर प्रमुख बिनोद साह प्रमुख अतिथि, प्रमुख प्रशासकीय अधिकृत नाथु साह विशिष्ट अतिथि, स्थानीय शासन विज्ञ नजबुल्लाह अन्सारी, महेशपुर स्वास्थ्य चौकी इन्चार्ज भागिरथ साह, विभिन्न विद्यालयका प्रधानाध्यापक, सञ्चारकर्मी र स्थानीय जनताको बाक्लो उपस्थिति थियो। नेपाल पत्रकार महासंघ मधेश प्रदेशका सदस्य साजिर मन्सूरले कार्यक्रमको सहजीकरण गरेका थिए भने कार्यक्रमको व्यवस्थापन इन्स्टिच्युट फर स्ट्रेटेजिक रिसर्च एन्ड प्रोफेसनल ट्रेनिङले गरेको थियो।


प्रतिक्रिया