
श्रेणी : अर्थ
रौतहट,२६ असार । सशस्त्र प्रहरी बल, भन्सार सुरक्षा गार्ड रौतहटले श्रोत नखुलेको १२ लाख ७३ हजार तीन सय रुपैयाँभन्दा बढी नगदसहित एक जनालाई पक्राउ गरेको छ। बिहीबार गौर नगरपालिका–१ स्थित भन्सार सुरक्षा गार्ड कार्यालयअगाडिबाट एक मोटरसाइकल चालक नगदसहित नियन्त्रणमा परेका हुन्।
प्रहरी सहायक निरीक्षक गोपाल सहनी र सशस्त्र प्रहरी सहायक निरीक्षक श्याम कुमार चौरसियाको कमान्डमा खटिएको टोलीले भारतबाट गौरतर्फ आउँदै गरेको बिआर ०३ जे ९५४३ नम्बरको मोटरसाइकललाई शंका लागेर चेकजाँच गरेको थियो। चेकजाँचका क्रममा मोटरसाइकल चालक सर्लाहीको रामनगर गाउँपालिका–२ बस्ने करिब ३० वर्षीय चन्दन पण्डितले पिठ्युँमा बोकेको कालो झोलामा श्रोत नखुलेको रकम फेला परेको हो। घटना भन्सार सुरक्षा गार्ड कार्यालयबाट करिब १०० मिटर पूर्वतर्फ भएको थियो।
झोलाभित्र नेपाली ९ लाख २८ हजार ५ सय रुपैयाँ र भारतीय २ लाख १५ हजार ५ सय रुपैयाँ बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ। कुल १२ लाख ७३ हजार ३ सय रुपैयाँ श्रोत नखुलेको नगद, मोटरसाइकल र चालक पण्डितलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको रौतहट प्रहरीले जनाएको छ ।


प्रतिक्रिया