
श्रेणी : अपराध
सर्लाही,२१ असार । जनता समाजवादी पार्टी (जसपा) मधेस प्रदेश समितिका अध्यक्ष अशोक यादवलाई पक्राउ गर्न प्रहरीले व्यापक खोजी गरिरहेको छ। सर्लाही जिल्ला प्रहरी कार्यालयका एसपी योगेन्द्रकुमार खड्कालाई धम्क्याएको आरोपमा जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेपछि यादवको खोजी तीव्र पारिएको हो।
सर्लाही जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी सरोज राईले दिएको जानकारीअनुसार, यादवलाई तत्काल पक्राउ गर्न जिल्लाभरिका सम्पूर्ण प्रहरी युनिट परिचालन गरिएको छ। शनिबार बिहान कुरा गर्दै डीएसपी राईले भने, ’उनलाई तत्काल पक्राउ गर्न प्रहरी खटिएको छ। अहिलेसम्म पक्राउ गरिसकिएको छैन। यति बुझ्नूस्, उनलाई प्रहरीले तीव्र रूपमा खोजिरहेको छ। सबै कुरा अहिले बताउन मिल्दैन।’
जसपा मधेस प्रदेश अध्यक्ष यादवले टेलिफोनमा एसपी खड्कालाई ’तराईमा लुट्न आएको लुटेरा’ भन्दै धम्क्याएको अडिओ संवाद सामाजिक सञ्जालमा सार्वजनिक भएपछि यो प्रकरण बाहिर आएको हो। सोही अडिओ संवादका आधारमा आपराधिक उपद्रव कसुरमा सर्लाही जिल्ला अदालतले शुक्रबार यादवविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो।
प्रहरीका अनुसार, रातिको समयमा सर्लाहीस्थित भौतिक पूर्वाधार कार्यालयमा सुरक्षा दिने क्रममा यादवले एसपीलाई धम्क्याएका थिए। सार्वजनिक अडिओमा यादवले प्रहरीलाई किन त्यहाँ सुरक्षा दिएको भन्दै गाली गरेको सुनिन्छ।
प्रहरीले यादवले यसअघि पनि प्रदेश मन्त्रीलाई यस्तै धम्कीपूर्ण भाषामा म्यासेज पठाएको पाइएको र उक्त म्यासेजलगायतका प्रमाणहरूलाई पनि यस प्रकरणमा प्रमाणका रूपमा लिएको जनाएको छ।


प्रतिक्रिया