वीरगन्ज :

६० औं हप्ताको निःशुल्क भोजन वितरण कार्यक्रम सम्पन्न

श्रेणी : मधेस

2 months
Pradeep Sah
1.6kViews
1353 Shares

बीरगन्ज,२१ असार । “मानव सेवा नै सबैभन्दा ठूलो सेवा हो” भन्ने भावनालाई आत्मसात गर्दै बीरगन्ज समाजसेवाले सञ्चालन गर्दै आएको निःशुल्क भोजन वितरण कार्यक्रमले आज ६० औं हप्ता पुरा गरेको छ। समाजसेवाको यो अनुकरणीय अभियान नारायणी अस्पतालको प्राङ्गणमा नियमित रूपमा हरेक शनिबार बिहान १० बजेबाट सञ्चालन हुँदै आएको छ।

आजको कार्यक्रम अन्तर्गत पनि अस्पतालमा उपचाररत बिरामी, कुरुवा, आर्थिक रूपमा कमजोर, असहाय र गरिब वर्गका करिब ४५०–५०० जना व्यक्तिहरूलाई शुद्ध, स्वच्छ र पोषिलो भोजन खुवाइएको छ।

आजको भोजनमा स्वादिलो दाल, भात, तरकारी र अचारको शाकाहारी थाली वितरण गरिएको थियो। खाना वितरणका क्रममा सरसफाइ र व्यवस्थापनमा विशेष ध्यान दिइएको थियो, जसले सेवाग्राहीहरूलाई आत्मसम्मानसाथ भोजन गर्न सहज वातावरण प्रदान गर्‍यो।

कार्यक्रमका संयोजक तथा बीरगन्ज समाजसेवाका अध्यक्ष अशोक कुमार गुप्ताले बताएअनुसार यो सेवा अभियानमा साप्ताहिक रूपमा सयौं नागरिक लाभान्वित हुँदै आएका छन्। “सेवाको भावना लिएर जो–कोही पनि यस अभियानमा सहभागी हुन सक्नेछन्,” गुप्ताले भने।

कार्यक्रममा समाजसेवाका पदाधिकारीहरू — उपाध्यक्ष मनोज प्रसाद रौनियार, सचिव प्रकाश बाहेती, कोषाध्यक्ष विनोद सराफ तथा सदस्यहरू मदन प्रसाद गुप्ता, राजु रुङ्ग्टा, वकिल प्रसाद रौनियार, रमेश अग्रवाल, बिरेन्द्र प्रसाद आर्या, हरेन्द्र प्रसाद, निसान्त लाठ, देवव्रत आर्या, राम बाबू, राधेश्याम गुप्ता लगायतको सक्रिय उपस्थिति रहेको थियो।

निःशुल्क भोजन कार्यक्रमले बिरगंजमा सहकार्य, सद्भाव र सामाजिक उत्तरदायित्वको उदाहरण प्रस्तुत गर्दै आएको छ। यसले समाजमा सेवामूलक सोच र समर्पणको भावना फैलाउन उल्लेखनीय योगदान पुर्‍याएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *