वीरगन्ज :

बीरगन्ज नाकाबाट भटमास तेलको आयातमा वृद्धि, निर्यात अझ बढि

श्रेणी : अर्थ

2 months
Pradeep Sah
2.8kViews
1618 Shares

बीरगन्ज,२१ असार । चालु आर्थिक वर्षको ११ महिनामा बीरगन्ज नाकाबाट भटमासको कच्चा तेलको आयातमा झन्डै ६१३ प्रतिशतको तीव्र वृद्धि देखिएको छ। भन्सार तथ्यांकअनुसार, यो अवधिमा कुल रु ५२ अर्ब ५८ करोड मूल्य बराबरको भटमास कच्चा तेल नेपाल भित्रिएको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा रु ४५ अर्ब २१ करोड बढी हो।

गत आवको ११ महिनामा यो नाका हुँदै सात अर्ब ३७ करोड रुपैयाँ बराबरको मात्र कच्चा तेल आयात भएको थियो।

बीरगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेका अनुसार, व्यवसायीहरूले भटमासको कच्चा तेल आयात गरेर नेपालमै प्रशोधन गरी ठूलो मात्रामा निर्यात गर्न थालेका छन्। “कच्चा तेल भित्र्याएर प्रशोधन गरी विदेश पठाइएको तथ्यांकबाट देखिन्छ,” उनले बताए।

त्यही अनुसार चालु आवको ११ महिनामा बीरगन्ज नाकाबाट रु ५५ अर्ब तीन करोड मूल्य बराबरको २५ करोड ८८ लाख लिटर भन्दा बढी भटमास प्रशोधित तेल विदेशी बजारमा पठाइएको छ।

यो अघिल्लो आवको तुलनामा निकै ठूलो छलाङ हो जहाँ सोही अवधिमा जम्मा चार लाख ६४ हजार लिटर मात्र तेल निर्यात भएको थियो, जसको मूल्य रु आठ करोड ८३ लाख थियो।

भटमास तेलजस्तै सूर्यमुखीको कच्चा तथा प्रशोधित तेलको कारोबारमा पनि उल्लेखनीय वृद्धि देखिएको छ।

चालु आवमा बीरगन्ज नाकाबाट रु नौ अर्ब ७५ करोड बराबरको सूर्यमुखीको कच्चा तेल आयात भएको छ, जबकि अघिल्लो आवमा सोही अवधिमा रु आठ अर्ब चार करोड को मात्र आयात भएको थियो।

त्यस्तै, सूर्यमुखीको प्रशोधित तेलको निर्यात रु आठ अर्ब ४० करोड पुगेको छ, जुन अघिल्लो आवको रु नौ करोड ९४ लाख को तुलनामा करिब ८५ गुणा बढी हो। निर्यात लिटरको हिसाबले हेर्दा यो आवमा तीन करोड ८८ लाख लिटर भन्दा बढी सूर्यमुखी तेल बाहिरिएको छ।

यो तथ्यांकले नेपालमा तेल प्रशोधन उद्योगको द्रुत विकास भएको संकेत गर्दछ। बीरगन्ज नाका हुँदै कच्चा तेल ल्याएर प्रशोधन गरी पुनः निर्यात गरिने प्रवृत्तिले आयात-निर्यातको सन्तुलनमा पनि सकारात्मक प्रभाव पार्न थालेको देखिन्छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *