
श्रेणी : कृषि
जनकपुर,२१ असार । असार सकिँदै गर्दा पनि सिरहाका धेरै खेतहरू अझै पनि सुक्खा छन्। समयमा पानी नपरेको र डिएपी मलको चरम अभाव भएको कारणले जिल्लामा धान रोपाइँ कार्य प्रभावित भएको छ। आकाशे पानीमै निर्भर किसानहरू खेत जोतेर बसिरहेका छन्, तर वर्षा र मल नहुँदा रोपाइँ सुरु गर्न सकेका छैनन्।
वर्षा निकै कमजोर भएको छ, बोरिङ सुविधा नभएकाले किसानहरू अझै पनि आकाशे पानीकै प्रतीक्षामा छन्। उता, बजारमा डिएपी मल नपाउँदा धानको अंकुरलाई आवश्यक पोषण दिन नपाएकाले उत्पादनमा गम्भीर असर पर्ने सम्भावना रहेको यादव बताउँछन्।
तराईका अधिकांश जिल्लाहरूमा जस्तै सिरहामा पनि किसानहरू वर्षाको भरमा खेती गर्न बाध्य छन्। “पहिला असार लाग्नासाथ पानी पथ्र्यो, अहिले कहिले पर्छ भन्ने कुनै टुङ्गो छैन,” लहान–१९ का किसान प्रदीप यादव भन्छन्।
कृषि ज्ञान केन्द्र, सिरहाका सूचना अधिकारी किरण विश्वकर्माका अनुसार जिल्लामा करिब ५४ हजार हेक्टर धानखेती योग्य जमिनमध्ये हालसम्म जम्मा १८ प्रतिशतमा मात्र रोपाइँ सम्पन्न भएको छ। “अहिलेसम्म भएका अधिकांश रोपाइँ पनि बोरिङमार्फत पानी जोहो गरेर गरिएको हो,” उनले जानकारी दिए।
मौसमविद्हरूले मधेसमा मनसुन सक्रिय हुन अझै केही दिन लाग्ने संकेत दिएका छन्। यदि चाँडै पानी नपरे बाँकी रोपाइँ ढिलो हुने, र त्यसको प्रत्यक्ष असर उत्पादनमा पर्ने कृषि विज्ञहरूको चेतावनी छ।
वर्षाको कमीमाथि थप संकट बनेको छ, डिएपी मलको चरम अभाव। कृषि सामग्री कम्पनी लिमिटेड लहानका प्रबन्धक दीपक पौडेलका अनुसार, आवश्यक पर्ने ५ हजार मेट्रिक टन डिएपीमध्ये हालसम्म जम्मा ८२५ मेट्रिक टन मात्र आपूर्ति भएको छ।
“सिँचाइका लागि मोटर भए पनि मल छैन,” पौडेलले भने, “गत वर्ष तीनपटक मल वितरण गरियो, तर यो वर्ष अहिलेसम्म एकपटक मात्र भएको छ। साउनको पहिलो हप्ता भित्र मल नआए किसानको भीड कार्यालयमा बढ्नेछ।”
उनले मल ढुवानीमा ढिलाइ हुनुको कारण अन्तर्राष्ट्रिय मूल्यवृद्धि र टेन्डर घाटाको डर भएको बताए। वैकल्पिक उपाय अपनाएर चाँडो आपूर्ति सुनिश्चित गर्न कृषि मन्त्रालयले अग्रसरता लिनुपर्ने सुझाव पनि उनले दिए। युरिया र पोटास भने पर्याप्त मात्रामा रहेको जनाइएको छ।
नेपाल राष्ट्रिय कृषक समूह, सिरहाका अध्यक्ष प्रदीप सिंह दनुवार भन्छन्, “समयमै रोपाइँ भए मात्रै गहुँ, तोरी र सागसब्जी जस्ता आगामी बालीमा सकारात्मक प्रभाव पर्छ।” सरकारबाट मल आपूर्ति र सिँचाइको दीर्घकालीन समाधानमा ध्यान नदिइने हो भने किसानहरूको वर्षभरको मेहनत खेर जाने खतरा रहेको उनी बताउँछन्।


प्रतिक्रिया