
श्रेणी : मधेस
बीरगन्ज,१६ असार । बाराको जितपुर सिमरा उपमहानगरपालिका–२१ स्थित चुरियामाई मन्दिर नजिकको जंगल क्षेत्रमा दुई ट्रक एक आपसमा ठोक्किँदा एकजना चालक गम्भीर घाइते भएका छन्। उक्त दुर्घटनामा घाइते चालकलाई करिब तीन घण्टापछि सुरक्षाकर्मीले सकसपूर्ण तरिकाले उद्धार गरेका छन्।
जिल्ला प्रहरी कार्यालय बाराका अनुसार हेटौँडाबाट पथलैया जाँदै गरेको ना ७ ख ७३०१ नम्बरको ट्रकलाई सोही दिशा हुँदै गइरहेको ना ६ ख ३७६३ नम्बरको अर्को ट्रकले पछाडिबाट ठक्कर दिँदा दुवै सवारी साधन सडकको छेउमा पल्टिएका थिए।
दुर्घटनामा ना ६ ख ३७६३ नम्बरको ट्रक चलाइरहेका चितवन भरतपुर उपमहानगरपालिका–१६ निवासी ३५ वर्षीय अरुण श्रेष्ठ घाइते भएका हुन्। श्रेष्ठ ट्रकको स्टेरिङमा च्यापिएर थुनिएका थिए। सशस्त्र प्रहरी बल नेपाल, गण नम्बर १४ मकवानपुरका निरीक्षक अनिल कार्कीको नेतृत्वमा खटिएको टोलीले ट्रकको झ्याल काटेर श्रेष्ठलाई तीन घण्टापछि सकुशल उद्धार गरेको हो।
सशस्त्र प्रहरीका सह–प्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार घाइते श्रेष्ठलाई तत्कालै जिल्ला अस्पताल हेटौँडातर्फ उपचारका लागि पठाइएको छ। अर्का ट्रक चालक भने सकुशल छन्। दुवै ट्रकमा चालकबाहेक अन्य व्यक्ति सवार नरहेको प्रहरीको भनाइ छ।


प्रतिक्रिया