
श्रेणी : प्रदेश
विराटनगर, ३१ जेठ । माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संसद्को अवरोध हटाउने निर्णय कुनै ‘सेटिङ’ वा गुप्त सहमति अन्तर्गत नभएको स्पष्ट पारेका छन्।
शनिबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै दाहालले संसद् सञ्चालनमा ल्याउने निर्णय जनहितमा आधारित रहेको बताएका छन्। “देश र जनताको हितका लागि कहिलेकाहीं अगाडि बढ्नुपर्छ, कहिलेकाहीं पछि हट्नुपर्छ,” उनले भने, “यो निर्णय संसद्मा ऐन, कानुन र दीर्घकालीन नीति सुधार अघि बढाउन आवश्यक थियो।”
उनका अनुसार, संसद्को अवरोध हटाउनुको प्रमुख सर्त एक महिनाभित्र छानबिन समिति गठन गर्ने सहमति हो, जुन सरकार पक्षले स्पष्ट रूपमा स्वीकार गरिसकेको छ।
गृह मन्त्रालयसँग सम्बन्धित चर्चित भिजिट भिसा प्रकरणबारे पनि दाहालले सरकार गम्भीर रहेको बताए। “यो गृहमन्त्री मात्रको विषय होइन, वर्षौंदेखि जटिल रूपमा जरा गाडेको समस्या हो,” भन्दै उनले यसको समाधानका लागि गहिरो अध्ययन, संरचनागत सुधार र नीतिगत कदम आवश्यक रहेको बताए।
गृहमन्त्रीले संसद्मै उभिएर एक महिनाभित्र सुधारको प्रक्रिया अघि बढाउने प्रतिबद्धता जनाइसकेको उनले स्मरण गराए।
यस्तै, नेपाली कांग्रेससँग गोप्य सहमति भएको भन्ने आलोचनामा आपत्ति जनाउँदै दाहालले भने, “यो सहमति कुनै व्यक्तिलाई जोगाउने प्रयोजनमा होइन, प्रणाली सुधार गर्ने उद्देश्यले गरिएको हो।”


प्रतिक्रिया