
श्रेणी : प्रदेश
काठमाडौँ, २७ जेठ । नेपालमा यस वर्षको मनसुन असामान्य ढंगले सुरु भएको छ। सरदर मिति भन्दा १५ दिन अगाडि, अर्थात् जेठ १५ गते कोशी प्रदेशबाट मनसुन प्रवेश गरे पनि, केही दिनमै त्यो पूर्वी एसियातर्फ फर्किएको छ। मनसुनको कमजोर फैलावटले देशभर गर्मी बढेको छ र आगामी दिनहरूमा ठूलो वर्षा तथा बाढीको जोखिम देखिएको छ।
जल तथा मौसम विज्ञान विभागका मौसमविद् गोविन्द झाले कोशी प्रदेशमा भित्रिएको मनसुनी वायु पूर्वी एसियातर्फ तानिएको बताए। “फिलिपिन्सतर्फ बनेको शक्तिशाली न्यूनचापीय क्षेत्रका कारण मनसुन फैलिन सकेन,” उनले भने। कोशी प्रवेश गरेकै केही दिनमा धरान–धनकुटा सडकखण्ड बगाउने गरी वर्षा भए पनि त्यसयता झनै खडेरीको अवस्था देखिएको छ।
मौसमविद्हरूका अनुसार मनसुनको यस्तो ‘ब्रेक’ अवस्था चिन्ताजनक हो। यसले कतै अत्यधिक वर्षा गराउँछ भने कतै खडेरी पार्न सक्छ। बङ्गालको खाडीबाट आउने वाष्पयुक्त हावा कमजोर भएसँगै देशभर गर्मी चुलिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आगामी दिनहरूमा बदली हुने सम्भावना छ, तर अझै पनि व्यापक वर्षाका लागि केही दिन पर्खनु पर्ने देखिन्छ।
जल तथा मौसम विज्ञान विभागले यस वर्ष गर्मी बढी हुने र वर्षा पनि अत्यधिक हुने पूर्वानुमान गरिसकेको छ। त्यसका आधारमा राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरण (NDRRMA) ले आपतकालीन योजना लागू गरिसकेको छ।
प्राधिकरणका प्रवक्ता रामबहादुर केसीका अनुसार करिब २० लाख मानिस यो वर्ष मनसुनजन्य विपदबाट प्रभावित हुने छन्। “त्यसमध्ये १० प्रतिशत, अर्थात् २ लाख मानिसलाई राहत तथा उद्धारको आवश्यकता पर्ने देखिएको छ,” उनले जानकारी दिए।
यसै सन्दर्भमा बाढी, पहिरो तथा डुबान संभावित क्षेत्रहरूलाई प्राथमिकतामा राखेर तयारी तीव्र पारिएको छ।


प्रतिक्रिया