
श्रेणी : मधेस
बीरगन्ज,२७ जेठ । प्रमुख जिल्ला अधिकारी (प्रजिअ) गणेश आर्यालले मंगलबार वडा प्रहरी कार्यालय बिर्ताको स्थलगत निरीक्षण तथा अनुगमन गरेका छन्। कार्यालय भ्रमणको क्रममा उनले प्रहरी कर्मचारीहरूको टर्नआउट, मेश, व्यारेक भवन, कन्ट्रोल रुम, हिरासत कक्ष र अन्य शाखाहरूको अवलोकन गरेका थिए।
निरीक्षणको क्रममा प्रजिअ आर्यालले कार्यरत प्रहरीलाई कर्तव्यपरायणता, पारदर्शिता, अनुशासन र जनमैत्री सेवा प्रवाहमा विशेष ध्यान दिन निर्देशन दिए। उनले प्रहरी सेवा जनतासँग नजिक हुनुपर्ने भन्दै, व्यवहारमै परिवर्तनको आवश्यकता औंल्याए।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख एसपी गौतम मिश्रा, शस्त्र प्रहरी बल १३ गणका प्रमुख एसपी राधेश्याम धिमाल र वडा प्रहरी कार्यालय बिर्ताका प्रमुख निरोज चौलागाईं पनि सहभागी थिए। चौलागाईंले कार्यालयको विविध पक्षबारे जानकारी गराउँदै निरीक्षणमा समन्वय गरेका थिए।
सुरक्षा प्रशासन र जनसेवा प्रभावकारी बनाउने उद्देश्यले गरिएको यस निरीक्षणलाई स्थानीय प्रशासनले सकारात्मक कदमको रूपमा लिएको छ। प्रजिअको भ्रमणले प्रहरी कार्यशैलीमा थप सुधार र सेवा प्रभावकारिता बढाउने अपेक्षा गरिएको छ।


प्रतिक्रिया