वीरगन्ज :

सांसद निधिको माओवादीलाई आग्रह : संसद चल्न दिनुस्, छानबिन भइरहेकै विषयमा अवरोध उचित होइन

श्रेणी : प्रदेश

3 months
Pradeep Sah
2.2kViews
1586 Shares

काठमाडौँ,२५ जेठ । नेपाली कांग्रेसका नेता तथा सांसद विमलेन्द्र निधिले प्रमुख प्रतिपक्ष नेकपा (माओवादी केन्द्र) लाई संसद् अवरोध नगर्न आग्रह गरेका छन्। उनले अहिलेको परिस्थितिमा संसद् सञ्चालन माओवादीकै भूमिकामा निर्भर रहेको उल्लेख गर्दै अवरोध अन्त्य गरी संसदीय प्रक्रिया अघि बढाउन आह्वान गरे।

आइतबार भक्तपुरमा आयोजित शहीद राधेश्याम जोन्छेको १३औं स्मृति दिवसमा बोल्दै नेता निधिले भने, “संसद् अहिले अवरुद्ध छ, र यसको नियन्त्रण माओवादीको हातमा छ। अब निर्णय तपाईंहरूकै हो– संसद् चलाउने कि चल्न नदिने।”

भिजिट भिसा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पहिले नै अनुसन्धान सुरु गरिसकेको अवस्थामा राजीनामा माग गर्दै संसद् अवरुद्ध गर्नु संसदीय प्रणालीको मर्म विपरीत रहेको उनले स्पष्ट पारे। “छानबिन भइरहेकै छ, अनुसन्धानको चरणमै संसद अवरुद्ध गर्नु ठीक होइन। रवि लामिछानेको घटनामा जुन तर्क प्रयोग गरिएको थियो, अहिलेको प्रकरणमा त्यो लागु हुँदैन,” उनले तर्क गरे।

उनले माओवादी नेताहरूलाई प्रत्यक्ष रूपमा आग्रह गर्दै भने, “संसदीय प्रणालीमा अब तपाईंहरू आइसक्नुभएको छ, त्यसको नियम, प्रक्रिया र शिष्टाचार अनुसार अगाडि बढ्नु नै उचित हुन्छ। संसदलाई बारम्बार अवरुद्ध गर्नु राष्ट्रहित विपरीत हो।”

यसैक्रममा निधिले पछिल्लोपटक केही नेताहरूले उठाउँदै आएको राजतन्त्र पुनर्स्थापनाको कुरालाई पनि खारेज गर्दै भने, “नेपाली जनताले धेरैचोटि राजालाई मौका दिएका थिए, तर उनीहरूबाट जनताको अधिकार खोसिएको इतिहासमै छ। अब नेपालमा राजतन्त्र फर्किन्छ भन्ने कुरा निरर्थक र असम्भव छ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *