
श्रेणी : अपराध
कैलाली,२५ जेठ । कैलालीको टीकापुरमा ट्राफिक चेकिङका क्रममा एक महिलामाथि हातपात तथा दुर्व्यवहार गरेको आरोपमा दुई जना प्रहरी कर्मचारीमाथि छानबिन प्रक्रिया सुरु गरिएको छ।
जेठ २३ गते साँझ करिब ५:१५ बजे टीकापुर नगरपालिका–७ को खैरीपुरस्थित हुलाकी राजमार्गको चेकपोष्टमा खटिएका प्रहरी कर्मचारीहरूले स्थानीय २९ वर्षीया राजकुमारी कुवर शाहमाथि शारीरिक तथा मानसिक दुर्व्यवहार गरेको आरोप लागेको हो।
शाहले उक्त घटनापछि इलाका प्रहरी कार्यालय टीकापुरमा उजुरी दर्ता गराउँदै दोषीमाथि कारबाहीको माग गरेकी छिन्। घटनाको भिडियोसमेत सामाजिक सञ्जालमार्फत सार्वजनिक भएपछि प्रहरीको व्यवहार र चेकिङ प्रक्रिया पुनः विवादमा आएको छ।
घटना गम्भीर बन्दै गएपछि जिल्ला प्रहरी कार्यालय कैलालीले प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार सिंहको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ। समितिले घटनाको विस्तृत अध्ययन र जिम्मेवार पहिचान गरी कारबाही सिफारिस गर्ने जनाएको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीले घटनामा संलग्न प्रहरी कर्मचारीहरूलाई हाल कार्यालयमा बोलाएर प्रारम्भिक सोधपुछ सुरू गरिएको र आवश्यक अनुसन्धान अघि बढाइएको जानकारी दिएको छ।
प्रहरी प्रशासनले अनुसन्धानका आधारमा दोष प्रमाणित भए कानुनअनुसार कारबाही गरिने प्रतिबद्धता जनाएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार हाल घटनासम्बन्धी थप तथ्य संकलन भइरहेको छ।


प्रतिक्रिया