वीरगन्ज :

मधेस प्रदेशको नीति तथा कार्यक्रममा कृषिलाई मुख्य प्राथमिकता

श्रेणी : कृषि

2 months
Pradeep Sah
2.2kViews
1573 Shares

जनकपुर,२४ जेठ । मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि सार्वजनिक गरेको नीति तथा कार्यक्रममा कृषि क्षेत्रलाई सर्वप्रथम प्राथमिकतामा राखिएको छ।

प्रदेश प्रमुख सुमित्रा भण्डारीले बुधबार प्रदेशसभामा प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममा ‘देशलाई खुवाउने मधेस’ भन्ने भावनालाई मूर्तरूप दिने गरी योजनाहरू समेटिएका छन्। ‘उत्पादन मधेसमा, विस्तार देशमा’ भन्ने मूल नारासँगै, कृषि उत्पादन, सिंचाइ र रोजगारीलाई केन्द्रमा राखिएको छ।

मखान, आँप, धान, तरकारी, तथा अन्य स्थानीय उत्पादनहरूको प्रवर्द्धनमा जोड दिँदै ‘मधेसको शान, स्थानीय मखान’ र ‘आँपको बगैंचा, मधेसको समृद्धि’ जस्ता नाराले कार्यक्रमको दिशा स्पष्ट गरेका छन्। मखान खेतीको वैज्ञानिक प्रविधिद्वारा विस्तार गरिने र वृहत स्तरमा आँपका बगैंचाको विकास गरिने उल्लेख छ।

‘खेत–खेतमा पानी, घर–घरमा खाद्यान्नसहित आम्दानी’ भन्ने नाराले सिंचाइको पूर्वाधार विकास र खाद्य सुरक्षामा आत्मनिर्भरता हासिल गर्ने योजना समेटिएको छ।

नीति तथा कार्यक्रममा प्रदेशभरका एक लाख युवालाई रोजगारीमा आबद्ध गराउने लक्ष्य राखिएको छ। यसले स्थानीय तहमा स्वरोजगार र कृषि–उद्योगमा आधारित रोजगारीका अवसर सिर्जना गर्ने अपेक्षा गरिएको छ।

शिक्षा क्षेत्रमा सबै बालबालिकाको पहुँच सुनिश्चित गर्ने, गुणस्तरीय शिक्षाको विकास गर्ने तथा सहभागिता वृद्धि गर्ने कुरामा पनि नीति केन्द्रित देखिन्छ।

यसअघि गण्डकी र कर्णाली प्रदेशले आ–आफ्नो नीति तथा कार्यक्रम सार्वजनिक गरिसकेका छन्। मधेस प्रदेशको यो कार्यक्रम ग्रामीण आर्थिक संरचनाको सुदृढीकरण र स्थानीय स्रोत साधनको प्रभावकारी उपयोगमा केन्द्रित छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *