वीरगन्ज :

तिलाबे खोलामा बेलिब्रिज निर्माण हुँदै, पचास वर्ष पुराना पुल जोखिममा

श्रेणी : अर्थ

3 weeks
Pradeep Sah
1.7kViews
1032 Shares

बीरगन्ज,२४ जेठ । पर्साको गण्डक नहर क्षेत्रको तिलाबे खोलामा स्टिल बेलिब्रिज निर्माण प्रक्रिया अघि बढाइएको छ। गत वर्षको बाढीले क्षति पुर्‍याएको आरसिसी पुलको विकल्पस्वरूप यो बेलिब्रिज जडान गरिँदैछ। पुल निर्माणसँगै नहर क्षेत्रमा रहेका पुराना संरचनाहरूको अवस्थाबारे समेत गम्भीर चिन्ता देखिएको छ।

नारायणी सिँचाइ व्यवस्थापन कार्यालय बीरगन्जका इन्जिनियर सुरेशप्रसाद साहका अनुसार, सडक विभागले स्टिल बेलिब्रिज जडानका लागि ३ करोड ३० लाख रुपैयाँको टेन्डर आह्वान गरेको थियो। प्रतिस्पर्धी कम्पनी मेदान्तर–महम्मद इस्लाम जेभीले ३ करोड १७ लाखमा ठेक्का लिएका छन्।

निर्माण कार्य अघि बढेसँगै पुलको दुबै छेउमा तारजालीसहितको खोलानियन्त्रण संरचना निर्माणको जिम्मा नारायणी सिँचाइ कार्यालयले लिनेछ।

गत असारको भीषण बाढीले तिलाबे खोलाको पुलको एउटा पिल्लर पूर्ण रूपमा र अर्को आंशिक रूपमा भत्काएको थियो। साथसाथै फ्लोरमा समेत क्षति पुगेपछि पुल प्रयोगमा जोखिम देखिएको छ। सिँचाइ कार्यालयले पुलबाट सवारी आवागमनमा रोक लगाएको भए पनि स्थानीयले साइकल, मोटरसाइकल र पैदल आवागमन अझै जारी राखेका छन्।

इन्जिनियर साहले पुल थप भत्किएमा गण्डक नहरको साइफन समेत क्षतिग्रस्त भइ नहर प्रणाली नै पूर्ण अवरुद्ध हुने चेतावनी दिएका छन्।

गण्डक नहर अन्तर्गत पर्सा–बारा क्षेत्रमा रहेका करिब २६ पुलमध्ये धेरै जसो जीर्ण अवस्थामा छन्। बाराको बंगरी खोला, पर्साको सिर्सिया र ओरिया खोलाका पुलहरू प्वाल परेको अवस्थामा पुगेका छन्, जसले जुनसुकै बेला पुल भत्किने खतरा निम्त्याउन सक्छ।

सन् १९७५/७६ मा भारतले निर्माण गरी नेपाललाई हस्तान्तरण गरेको गण्डक नहरले ३१ हजार हेक्टर जमिन सिँचाइ गर्ने लक्ष्य राखेको थियो। अहिले नहरसँगै बनेका एप्रोच सडक र पुलहरू स्थानीयका लागि हुलाकी सडकको विकल्प बनेका छन्।

सरकारले नहरसँग जोडिएको सडक कालोपत्रे त गर्‍यो, तर पुल मर्मत वा पुनर्निर्माणतर्फ ध्यान नदिँदा संरचना जोखिममा परेका छन्। बीरगन्ज–जगरनाथपुर क्षेत्रको औद्योगिक विस्तारपछि भारी सवारी चाप बढेको र कमजोर पुलहरूमा थप दबाब परेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *