
श्रेणी : अन्तर्राष्ट्रिय
काठमाडौँ,२४ जेठ । अब भारतीय प्रयोगकर्ताहरूले आफ्नो आइफोन वा म्याकबुक बिग्रिएपछि विदेशी केन्द्रको मुख ताक्नुपर्ने छैन। अमेरिकी प्रविधि कम्पनी एप्पलले भारतमा आफ्ना डिभाइसहरूको मर्मत जिम्मा देशकै टाटा समूहलाई दिने निर्णय गरेको छ।
यो सहकार्यसँगै एप्पलको आपूर्ति श्रृंखलामा भारतीय कम्पनी टाटा समूहको उपस्थित झनै बलियो बन्ने देखिएको छ। चिनियाँ बजारमा निर्भरता घटाउने रणनीतिमा रहेको एप्पलका लागि टाटा प्रमुख साझेदारको रूपमा उदाएको विश्लेषण गरिएको छ।
भारतीय सञ्चारमाध्यमहरूका अनुसार, टाटाले एप्पलको ताइवानी साझेदार विस्ट्रन कम्पनीको भारतीय शाखा ‘ICT सर्विस म्यानेजमेन्ट सोलुसन्स’बाट मर्मत सेवा आधिकारिक रूपमा आफ्नो हातमा लिन लागेको हो। अब टाटाले कर्नाटकस्थित आइफोन असेम्बली क्याम्पसबाटै मर्मत सेवा सञ्चालन गर्नेछ।
यो क्याम्पसबाट जटिल र उच्चस्तरीय मर्मत सेवाहरू पनि प्रदान गरिने बताइएको छ — जुन सेवा सामान्य एप्पल स्टोर वा अधिकृत केन्द्रबाट सम्भव हुँदैन।
हाल टाटा समूहले दक्षिण भारतमा रहेका तीनवटा कारखानाबाट स्थानीय तथा अन्तर्राष्ट्रिय बजारका लागि आइफोनको उत्पादन गरिरहेको छ। तीमध्ये केही कारखानाहरूमा आइफोनका पार्टपुर्जा (components) पनि निर्माण भइरहेको अनुमान गरिएको छ।
दोस्रो ठूलो स्मार्टफोन बजार बनिसकेको भारतमा आइफोनको माग तीव्ररूपमा बढ्दो छ। अनुसन्धान संस्था काउन्टरपोइन्टका अनुसार, सन् २०२3 मा मात्रै भारतमा १ करोड १० लाख आइफोन बिक्री भएका थिए। यसले एप्पलको भारतीय बजार हिस्सा ७ प्रतिशत पुर्याएको छ, जुन २०२० मा केवल १ प्रतिशत थियो।


प्रतिक्रिया