
श्रेणी : प्रदेश
जनकपुर,२४ जेठ । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१ स्थित कोशी नदीमा डुबेका दुई सशस्त्र प्रहरी जवानमध्ये एक जनाको शव फेला परेपनि अर्का जवान अझै बेपत्ता छन्।
बिहीबार मनसुनजन्य विपद् पूर्वतयारीका क्रममा अभ्यास गरिरहँदा इलामको श्रीअन्तु गणबाट दन्तकाली विशेष कार्य तालिम शिक्षालयमा कार्यरत हरदेव राजवंशी र नम्बर १३ गण पर्साबाट छिन्नमस्ता बाहिनीमा कार्यरत सुरज साउद कोशीको बगिरहेको धारमा फसेर बेपत्ता भएका थिए।
शुक्रबार बिहान राजवंशीको शव घटनास्थलबाट करिब ३ किलोमिटर दक्षिण, कोशी ब्यारेज नजिक फेला परेको भएपनि साउदको अवस्था अझै अज्ञात छ।
सप्तरीको नम्बर ६ गण हेडक्वार्टरका एसपी ज्ञानमणि पौडेलका अनुसार साउदको खोजी कार्य जारी छ। खोजीमा दन्तकाली तालिम शिक्षालय, नम्बर ६ गण सप्तरी, र विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारका तालिमप्राप्त गोताखोर टोली परिचालित छन्।
दुवै जवान विपद् व्यवस्थापनको तालिम प्राप्त गोताखोर हुन्। झापाका राजवंशी र डोटीका साउदले क्रमशः २०७८ र २०७९ सालमा तालिम पूरा गरेका थिए।
घटनाका बेला उनीहरू ब्यारेजको ढोका नम्बर ५५ र ५६ नजिक अभ्यास गरिरहेका थिए। तर अचानक पानीको भूमरीमा फसेपछि उनीहरू बेपत्ता भएका थिए।
घटना भएपछि शनिबार तय गरिएको प्रदेशस्तरीय विपद् पूर्वतयारी कार्यक्रम स्थगित गरिएको छ।


प्रतिक्रिया