
श्रेणी : मधेस
जनकपुर,२० जेठ । नेकपा माओवादी केन्द्र मधेश प्रदेश संसदीय दलका नेता भरतप्रसाद साहले सोमबार पदबाट राजीनामा दिएका छन्। पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई उनले आफ्नै नेतृत्वमा लिखित राजीनामा बुझाएका हुन्।
पार्टी स्रोतका अनुसार साहलाई राजीनामा दिन अध्यक्ष प्रचण्डले नै निर्देशन दिएका थिए। यसअघि नै मधेश प्रदेशका ९ जना माओवादी सांसदहरूमध्ये बहुमतले साहको नेतृत्वमा असन्तुष्टि जनाउँदै उनलाई पदबाट हटाउन दबाब दिँदै आएका थिए।
साहले अध्यक्ष प्रचण्ड र मधेश प्रदेशका इन्चार्ज मातृका यादवको समर्थन पाउँदै आएको आधारमा नेतृत्व नछाड्ने अडान लिएका थिए। तर, पार्टीमा भित्रभित्रै उनको क्रियाकलापप्रति असन्तोष बढेको र केहि समयअघि पार्टी अनुशासनसम्बन्धी उजुरी अध्यक्षसम्म पुगेपछि परिस्थिति फेरिएको थियो।
पार्टी अनुशासन र नेतृत्वको विषयमा उजुरी आएपछि प्रचण्ड आफैंले साहलाई राजीनामा दिन निर्देशन दिएका थिए। त्यसपछि मात्रै साहले आफ्नो अडान परिवर्तन गर्दै सोमबार औपचारिक रूपमा राजीनामा बुझाएको स्रोतको भनाइ छ।
अब माओवादी केन्द्रले नयाँ संसदीय दलको नेता चयन गर्ने प्रक्रिया अघि बढाउने तयारी गरेको छ।


प्रतिक्रिया