वीरगन्ज :

वीरगन्जको ठाकुरराम क्याम्पसमा रक्तदान कार्यक्रम सम्पन्न

श्रेणी : मधेस

2 months
Pradeep Sah
2.4kViews
2000 Shares

वीरगन्ज,१२ जेठ । सामाजिक उत्तरदायित्व र मानव सेवाको भावनालाई प्रोत्साहन गर्न वीरगन्जकाे ठाकुरराम बहुमुखी क्याम्पसस्थित स्वतन्त्र विद्यार्थी युनियनले सोमबार क्याम्पस परिसरमा रक्तदान कार्यक्रम आयोजना गरेको छ ।

रक्तसञ्चार केन्द्र वीरगन्जकाे प्राविधिक सहयोगमा रूपमा सम्पन्न कार्यक्रममा एक महिलासहित कुल ६१ जनाले रक्तदान गरेको आयोजकले जनाएका छन् ।
रक्तदाताहरूमध्ये प्रीति पटेल, रिकेश यादव, रामन मिश्र, राजेश्वर यादव, नुरुहा मन्सुरी, आकाश कानु, गौरी सिंह, दीपनारायण, राहुल यादव, राहुल सिंहलगायत थिए ।

कार्यक्रममा प्रमुख अतिथि नेपाली काँग्रेस पर्सा क्षेत्र नम्बर १ का सभापति अरविन्द गुप्ताले रक्तदानको महत्वबारे बोल्दै रक्तदान जीवन रक्षाको सबैभन्दा ठूलो दान भएको बताए । “यस्ता कार्यक्रमले समाजमा जागरूकता फैलाउँछ र युवाहरूलाई सामाजिक कार्यमा प्रेरित गर्छ,” उनले भने ।

विशिष्ट अतिथि क्याम्पस प्रमुख रञ्जित प्रसाद यादवले पनि यस्ता कार्यक्रमले विद्यार्थीहरूमा सामाजिक उत्तरदायित्वको भावना जागृत गर्ने बताए । वडा प्रहरी कार्यालय बिर्ताका प्रमुख निरोज चौलागाईंले रक्तदानको सामाजिक महत्वमाथि प्रकाश पार्दै आयोजकलाई धन्यवाद दिए । त्यस्तै, नेपाल रेडक्रस सोसाइटी वीरगन्ज शाखाका सभापति बृजकिशोर पटेलले रक्तदानले धेरैको जीवन बचाउन सकिने र यस्ता प्रयासले समुदायमा एकताको सन्देश प्रवाह गर्ने बताए ।

कार्यक्रमको सञ्चालन स्वतन्त्र विद्यार्थी युनियनका सभापति राज कुमार यादवले गरेका थिए । समापनमा आयोजक समितिले सबै रक्तदाता, अतिथि, प्राविधिक सहयोगी र स्वयंसेवकहरूप्रति आभार प्रकट गर्दै धन्यवाद पत्र वितरण गरेको थियो ।

कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख लोकराज भट्ट, नेपाल रेडक्रस सोसाइटी वीरगन्ज शाखाका सभापति बृजकिशोर पटेल, रेशमकोठी उपशाखाका युवा संयोजक अभिलाष गुप्ता लगायत विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *