
श्रेणी : मधेस
बीरगन्ज,१२ जेठ । वर्षौंदेखि बीरगन्जको घण्टाघर नजिकैको विपी उद्यानमा अनियमित रूपमा सञ्चालनमा रहेको तरकारी बजार अन्ततः व्यवस्थित रूपमा छपकैयास्थित सार्वजनिक जग्गामा स्थानान्तरण हुने भएको छ। वीरगञ्ज महानगरपालिकाले स्थानान्तरणको प्रक्रिया अन्तिम चरणमा पुगेको जनाएको छ।
महानगरका प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्णका अनुसार, वडा नम्बर २ स्थित रेल्वे रोडसँग जोडिएको ३२ कठ्ठा सार्वजनिक जग्गामा नयाँ तरकारी बजार निर्माण गरिएको हो। बजारका लागि सटरसहितको सेड, शौचालय, वाउण्ड्री वाल जस्ता पूर्वाधारहरू महानगरकै बजेटमा निर्माण गरिएको छ।
नवनिर्मित सेडलाई व्यवस्थापन गर्न छिट्टै टेण्डरमार्फत ठेक्कामा दिने तयारी भइरहेको र त्यसपछि विपी उद्यानमा रहेको बजारलाई पूर्ण रूपमा स्थानान्तरण गरिने जानकारी प्रशासकीय अधिकृत कर्णले दिए।
महानगर प्रमुख राजेशमान सिंहसहितको टोलीले छपकैयास्थित नवनिर्मित बजारको स्थलगत निरीक्षण गरेको छ। निरीक्षण टोलीमा प्रशासकीय अधिकृत कर्ण, लेखा अधिकृत रामकुमार कुशवाहा, इञ्जिनियर प्रकाश अमात्य, राजीव उपाध्यायलगायत रहेका थिए।
मेयर सिंहले थप आवश्यक पूर्वाधार तत्काल निर्माण गर्न कर्मचारीहरूलाई निर्देशन दिइसकेका छन्।
तरकारी बजार हटाइसकेपछि विपी उद्यानमा आधुनिक पार्क निर्माणको काम अघि बढाइने मेयर सिंहले जानकारी दिएका छन्। यसले शहरको सौन्दर्य र सार्वजनिक स्थलको प्रयोग दुवैमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।


प्रतिक्रिया