
श्रेणी : प्रदेश
काठमाडौं,१२ जेठ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले देशमा अब लोडसेडिङ नहुने स्पष्ट घोषणा गरेका छन्। सोमबार साँझ काठमाडौंको कुलेश्वरस्थित कालीमाटी ‘नो लाइट’ शाखाको स्थलगत निरीक्षणपछि पत्रकारहरूसँग कुरा गर्दै मन्त्री खड्काले केही समूहले नियोजित रूपमा लोडसेडिङबारे अफवाह फैलाइरहेको भन्दै त्यस्ता भ्रामक सूचनाको पछि नलाग्न आम नागरिकलाई आग्रह गरे।
मन्त्री खड्काले हाल देशभर उत्पादन भइरहेको विद्युत् आपूर्ति मागअनुसार पर्याप्त रहेको जानकारी गराउँदै भने, “अबको परिस्थितिमा लोडसेडिङको सम्भावना छैन। अफवाहमा नपरी यथार्थ बुझेर अगाडि बढ्न जरुरी छ।”
उनले असामान्य मौसमी असरहरू—जस्तै हावाहुरी, चट्याङ वा प्राविधिक गडबडी—का कारण केही क्षण समस्या देखा परे पनि ती समस्या तत्काल समाधान भइरहेको बताए।
सोही दिन मन्त्री खड्काले स्युचाटारस्थित लोड डिस्प्याच सेन्टरको पनि आकस्मिक निरीक्षण गरे। उनले देशभर विद्युत् प्रवाहको अवस्था तथा प्राविधिक व्यवस्थापनबारे जानकारी लिए। निरीक्षणका क्रममा नेपाल विद्युत् प्राधिकरणका कर्मचारीलाई उपभोक्ताप्रति उत्तरदायी र जवाफदेही भएर काम गर्न निर्देशन दिए।
“बजारमा यदाकदा फैलिने अपुष्ट र असत्य प्रचारले जनमानसमा भ्रम सिर्जना गर्छ,” मन्त्री खड्काले भने, “यस्तो अवस्थामा सरकार र प्राधिकरणको तर्फबाट स्पष्टीकरण दिनु आवश्यक हुन्छ।”
उनले सरकार लोडसेडिङको पुनरावृत्ति हुन नदिन आपूर्ति सुदृढीकरण, समस्या व्यवस्थापन र गुनासो सम्बोधनका विषयमा कडा नीति लागू गरिरहेको बताए।
मन्त्री खड्कासँगको निरीक्षण टोलीमा ऊर्जा सचिव सुरेश आचार्य, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यसहित प्राविधिक कर्मचारीको उपस्थिति थियो। टोलीले उपभोक्ता गुनासो, ग्रिडको अवस्था र प्रविधिसम्बन्धी अवरोधबारे प्रत्यक्ष जानकारी संकलन गरेको थियो।


प्रतिक्रिया