वीरगन्ज :

अंशु यादव हत्याको विरोधमा जनकपुरमा यौनिक अल्पसंख्यक समुदायको प्रदर्शन

श्रेणी : अपराध

2 months
Pradeep Sah
2.1kViews
1371 Shares

जनकपुर,१२ जेठ । होलीको दिन भएको अंशु यादव हत्या प्रकरणमा दोषीमाथि कारबाही हुनुपर्ने माग गर्दै जनकपुरधाममा यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायले विरोध प्रदर्शन गरेका छन्। सोमबार जिल्ला प्रशासन कार्यालय अगाडि भेला भएका प्रदर्शनकारीहरूले नाराबाजी गर्दै अनिश्चितकालीन धर्नाको चेतावनीसमेत दिएका छन्।

गत चैत २ गते होली पर्वको दिन जनकपुरधामस्थित विन्धिमा चक्कु प्रहार गरी अंशु यादवको हत्या गरिएको थियो। प्रदर्शनकारीहरूको आरोप छ—प्रशासनले हत्यामा संलग्न व्यक्तिहरूलाई पक्राउ नगरेको, र जसलाई पक्राउ गर्‍यो पनि उनीहरूलाई धरौटीमा रिहा गरिएको छ।

प्रदर्शनमा सहभागीहरूले अंशुकी आमाले न्यायका लागि संघर्ष गरिरहँदा, आरोपीहरूलाई सजिलै धरौटीमा रिहा गर्नु भनेको “घाउमाथि नुन छर्कनु” भएको बताएका छन्। धरौटीमा छुटेका व्यक्तिहरूले पीडित परिवारलाई धम्की दिइरहेको आरोपसमेत लगाइएको छ।

प्रदर्शनकारीहरूले आफूहरू सामाजिक रूपमा उपेक्षित समुदाय भएको भन्दै न्याय नपाए अंशुको निम्ति ज्यान दिन पनि तयार रहेको चेतावनी दिएका छन्। “अंशु हाम्रो दाजु, साथी, आवाज थियो। ऊ मरेपछि हामी चुप लागेर बस्दैनौं,” उनीहरूले भने।

उनीहरूले राजनीतिक पहुँच र पैसाको प्रयोग गरी अपराधीलाई उन्मुक्ति दिन खोजिएको आरोप पनि लगाए। “प्रहरी र केही राजनीतिक व्यक्तिहरूको मिलेमतोमा अपराधी उम्काउने प्रयास भइरहेको छ,” प्रदर्शनकारीहरूको भनाइ छ।

समुदायले हत्यामा संलग्न सबैलाई पक्राउ गरी कानुनी दायरामा ल्याएर कडा सजाय नदिइन्जेल आन्दोलन नरोकिने स्पष्ट पारेका छन्। “न्याय नपाए यो आन्दोलन जनआन्दोलनमा परिणत हुनेछ,” उनीहरूले चेतावनी दिएका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *