श्रेणी : मधेस
बीरगन्ज,१० जेठ । बीरगन्ज महानगरपालिका–१७ अलौमा आज दिउँसो भएको सवारी दुर्घटनामा एक युवकको मृत्यु भएको छ भने अर्का गम्भीर घाइते भएका छन्।
दिउँसो करिब ४ः१० बजे वीरगञ्जबाट अलौतर्फ गइरहेको लु ५ च ८१५९ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आइरहेको ना ७ ख ९४२९ नम्बरको टिपरले ठक्कर दिएको थियो। दुर्घटनामा मोटरसाइकल चालक पर्सा जिल्लाको वीरगञ्ज–१६, नगवा टोलका २२ वर्षीय छोटु साह सोनार गम्भीर घाइते भए।
टाउको र छातीमा गम्भीर चोट लागेका उनलाई तत्काल नजिकैको नीलकण्ठ अस्पतालमा लगिएको भए पनि उपचारका क्रममा ४ः२० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।
मोटरसाइकलको पछाडि सवार वीरगञ्ज–२९, रतनपुर टोलका २९ वर्षीय शुकुरुला अंसारी घाइते भएका छन्। कम्मर र दुवै खुट्टामा चोट लागेका अंसारीको वीरगञ्जस्थित नेशनल मेडिकल कलेजमा उपचार भइरहेको छ। उनको अवस्था मध्यम रहेको चिकित्सकहरूले बताएका छन्।
दुर्घटनापछि इलाका प्रहरी कार्यालय श्रीपुरबाट खटिएको प्रहरी टोलीले टिपर चालक बारा, कलैया–१६ निवासी ३२ वर्षीय कृष्ण प्रसाद पटेललाई नियन्त्रणमा लिएको छ।
साथै, दुबै सवारी साधनलाई पनि नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि श्रीपुर प्रहरी कार्यालयमा पठाइएको प्रहरी स्रोतले जनाएको छ।

प्रतिक्रिया