
श्रेणी : प्रदेश
काठमाडाैं,१० जेठ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा फेरि माओवादी लहर उठिरहेको दाबी गरेका छन्। शनिबार पोखरामा आयोजित ‘मध्यपहाडी लोकमार्ग जनजागरण अभियान’ अन्तर्गतको जनसंवाद कार्यक्रममा बोल्दै उनले माओवादी आन्दोलनको पुनरुत्थानको संकेत गर्दै नयाँ क्रान्तिको तयारीमा जुट्न कार्यकर्तालाई आह्वान गरे।
दाहालले देशको विभिन्न भूभागमा पुगेका अनुभव सुनाउँदै भने, “मध्यपहाडी क्षेत्रदेखि तराई–मधेशसम्मको अभियानमा मैले जनताको मनोवृत्ति अवलोकन गर्दा २०६४ सालको जस्तो माओवादी मय वातावरण फेरि बन्दै गएको देखिएको छ। वृद्ध, युवा, महिला, बालबालिकामाझ फेरि माओवादीप्रतिको आकर्षण बढिरहेको छ।”
उनले माओवादी केन्द्र आगामी निर्वाचनमा पहिलो शक्ति बन्ने दाबीसमेत गरे। “यदि हामी जनतालाई राम्ररी बुझाउन सफल भयौं भने आउँदो एक वर्षमा देश माओवादी मय हुनेछ,” उनले भने, “अगामी निर्वाचनमा माओवादी केन्द्र पहिलो पार्टी बन्नेछ, र त्यसपछि समाजवादको आधार निर्माणको प्रक्रिया तीव्र हुनेछ।”
संविधान र शासकीय संरचनासम्बन्धी बहसमा पनि दाहालले आफ्नो पुरानै धारणा दोहोर्याउँदै प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा संविधान संशोधन आवश्यक रहेको बताए। “संघीय लोकतान्त्रिक गणतन्त्रको संरचनाले सबै वर्ग र समुदायको पहिचान सुनिश्चित गरेको छ,” उनले भने, “अब राजनीतिक स्थायित्वका लागि प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको व्यवस्था आवश्यक भइसकेको छ।”
उनले समाजवादको स्पष्ट दिशामा जान माओवादी केन्द्र अग्रसर रहेको पनि बताए। “संविधानले समाजवाद उन्मुख राज्य भने पनि कस्तो समाजवाद भन्नेमा अस्पष्टता छ,” दाहालले स्पष्ट पारे, “हामीले आत्मनिर्भर अर्थतन्त्र, कृषिमा आधारित उद्योग, पर्यटन, जडिबुटी प्रशोधनलगायतका माध्यमबाट समाजवादी अर्थतन्त्रको जग बसाल्ने योजना बनाएका छौं।”
कार्यक्रममा दाहालले सहिद, बेपत्ता तथा घाइते परिवारसँग नयाँ सम्बन्ध निर्माण गर्दै माओवादी आन्दोलनप्रतिको भावना फेरि जगाउने प्रयास भइरहेको जानकारी दिए। “सबै कमरेडहरूलाई गम्भीर आत्मसमिक्षा गर्न आग्रह गर्छु,” उनले भने, “देशको राजनीतिक स्थायित्व, भ्रष्टाचारको अन्त्य र आर्थिक विकास अब हाम्रो काँधमा परेको जिम्मेवारी हो।


प्रतिक्रिया