वीरगन्ज :

पर्साको जगरनाथपुरमा वडा कार्यालय भवनको पूर्वमन्त्री रिजालले गरे उद्घाटन

श्रेणी : अर्थ

4 months
Pradeep Sah
3.0kViews
1009 Shares

बीरगन्ज,३१ वैशाख । पर्सा जिल्लाको जगरनाथपुर गाउँपालिका–५ मा निर्माण गरिएको नयाँ वडा कार्यालय भवनको बुधबार औपचारिक उद्घाटन गरिएको छ। पूर्वउद्योगमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश रिजालले भवनको उद्घाटन गर्दै विकास निर्माणमा सबै राजनीतिक दलहरू एकजुट भएर लाग्नुपर्ने आवश्यकता औंल्याए।

उद्घाटन कार्यक्रममा बोल्दै पूर्वमन्त्री रिजालले लोकतन्त्र र संघीयताको वास्तविक अनुभूति जनताले त्यतिबेला मात्र गर्न सक्ने बताए, जब उनीहरूको गाउँठाउँमा प्रत्यक्ष रूपमा विकास देखिन्छ। उनले स्थायी संरचनात्मक विकासमार्फत सेवा प्रवाहलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिए।

गाउँपालिका अध्यक्ष श्रीकान्त प्रसाद यादवले अब वडा कार्यालय आफ्नै भवनबाट सञ्चालनमा आउँदा सेवाप्रवाह सहज हुने विश्वास व्यक्त गरे। उनले विकास निर्माण र जनसुविधासम्बन्धी कामहरूमा सबै वडाहरूमा ध्यान दिइएको जानकारी दिए।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्देश यादवका अनुसार वडा कार्यालयको दुईतले भवन निर्माणमा जगरनाथपुर गाउँपालिका र जिल्ला समन्वय समिति पर्साको संयुक्त लगानी रहेको छ। कुल लागत १ करोड १० लाख रुपैयाँ रहेको उक्त भवनबाट वडा प्रशासनको सेवा गुणस्तरीय हुने अपेक्षा गरिएको छ।

वडाध्यक्ष बिहारी महतो नुनियाको अध्यक्षता र पूर्वमन्त्री रिजालको प्रमुख आतिथ्यतामा सम्पन्न उद्घाटन कार्यक्रममा प्रदेशसभा सदस्य शंकर चौधरी, गाउँपालिका उपाध्यक्ष बबीता सिंह क्षेत्री, प्रमुख प्रशासकीय अधिकृत सन्देश यादवलगायत जनप्रतिनिधि र कर्मचारीको उपस्थिति रहेको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *