वीरगन्ज :

भारत तस्करीको प्रयासमा २० वर्षीया युवतीसहित युवक पक्राउ

श्रेणी : BANNER

12 months
Pradeep Sah
2.5kViews
1632 Shares

बारा, ३१ वैशाख । बाराकी एक विवाहित २० वर्षीया युवतीलाई भारतको राजधानी दिल्लीस्थित वेश्यालयमा लैजाने प्रयासमा रहेका एक युवक पक्राउ परेका छन्। भारतको बिहार राज्यस्थित मोतीहारी जिल्लाको जमुनिया इलाकाबाट भारतीय सशस्त्र सीमा बल (एसएसबी)ले उनीहरूलाई नियन्त्रणमा लिएको हो।

पक्राउ परेका व्यक्ति बारा जिल्लाको सिम्रौनगढ नगरपालिका–१०, देवापुर टेटाका २४ वर्षीय सुरज गुप्ता रहेको बारा प्रहरीले जनाएको छ। प्रारम्भिक अनुसन्धान अनुसार उनले युवतीलाई प्रलोभन देखाउँदै भारत लैजाँदै थिए। गुप्ताले आफ्नी सानी आमाले सञ्चालन गर्दै आएको दिल्लीस्थित वेश्यालयमा युवतीलाई जबर्जस्ती यौन व्यवसायमा लगाउने योजनासहित तस्करी गर्दै गरेको खुलेको छ।

भारतीय सीमा सुरक्षाबलले रौतहटसँग जोडिएको सीमा नाकाबाट राति भारततर्फ लैजाँदै गर्दा गुप्तालाई शंका लागेर सोधपुछ गरेको थियो। सोधपुछका क्रममा उनले लगातार फरक–फरक बयान दिएका थिए। पछि कडाइका साथ अनुसन्धान गर्दा उनले तस्करीको नियत स्वीकार गरेको एसएसबीले जनाएको छ।

एसएसबीले पक्राउ परेका गुप्ता र पीडित युवतीलाई रौतहट प्रहरीमार्फत बारा जिल्ला प्रहरी कार्यालयमा बुझाएको छ। जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी दीपक कुमार रायका अनुसार, पीडितको स्थायी ठेगाना बारा जिल्लामा परेकाले थप अनुसन्धानका लागि उनीहरूलाई इलाका प्रहरी कार्यालय सिम्रौनगढको जिम्मा दिइएको हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *