
श्रेणी : मधेस
जनकपुर,०१ जेठ । मधेश प्रदेशका मुख्यमन्त्री सतिश सिंहले अहिलेको युगलाई “सूचना तथा सञ्चार प्रविधिको युग” भन्दै डिजिटल रुपान्तरणलाई प्राथमिकतामा राख्नुपर्ने बताएका छन्। बुधबार महोत्तरीको बर्दिबासस्थित होटल नाभ्यामा आयोजित डिजिटल मधेश कन्क्लेभ २०२५ को उद्घाटन सत्रमा बोल्दै उनले विज्ञान र प्रविधिको प्रभावकारी प्रयोगले प्रदेशको समग्र विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरे।
मुख्यमन्त्री सिंहले अनुसन्धान, नवप्रवर्तन र प्रविधि-आधारित व्यवसायिक प्रयोगहरूबाट मधेशमा विकासको गति तीव्र बनाउन सकिने उल्लेख गर्दै भने, “सूचना प्रविधिमार्फत मात्र समृद्धिको बाटो खुल्छ, अबको युग विज्ञानमै टेकेर अघि बढ्ने युग हो।”
कार्यक्रममा सहभागी गृह, सञ्चार तथा कानून मन्त्री राजकुमार लेखीले विज्ञान र प्रविधिमा लगानी गरी दक्ष जनशक्ति तयार पार्नु प्रदेशको दिगो आर्थिक समृद्धिको लागि अनिवार्य भएको बताए। उनले आधुनिक उपकरणको प्रयोग, जैविक प्रविधिको प्रवर्द्धन, वैकल्पिक ऊर्जाको विकासजस्ता पहलहरूलाई सरकारले गम्भीरतापूर्वक कार्यान्वयनमा ल्याउनुपर्नेमा जोड दिए।
डिजिटल मधेश कन्क्लेभमा “Fostering Digitalization and Development” भन्ने मूल थिमअन्तर्गत डिजिटल पूर्वाधार, डिजिटल शिक्षा, कृत्रिम बुद्धिमत्ता (AI), डेटा सुरक्षा, स्टार्टअप, ICT नीति र डिजिटल गभर्नेन्सजस्ता विषयमा छुट्टाछुट्टै सेसनमा विशेषज्ञहरूसँग बहस र छलफल गरिएको थियो।
आयोजक अनुसार कन्क्लेभ मधेश प्रदेश सरकारको गृह, सञ्चार तथा कानून मन्त्रालयको पहलमा, आइसिटी फाउन्डेसन नेपाल र क्यान महासंघ मधेश प्रदेशको सहकार्यमा आयोजना गरिएको हो। सम्मेलनमा विभिन्न डिजिटल इनिसिएटिभ र नवप्रवर्तन आइडियाहरूको पनि शोकेस गरिएको थियो।
कार्यक्रमले आउँदै गरेको आर्थिक वर्ष २०८२/८३ का नीति तथा बजेट निर्माणमा सूचना प्रविधि क्षेत्रलाई उच्च प्राथमिकतामा राख्न सम्बन्धित निकायलाई मार्गदर्शन दिने अपेक्षा गरिएको छ।


प्रतिक्रिया