वीरगन्ज :

बीरगन्जमा बेवारिसे सवारी र संरचना हटाउने अभियान तीव्र

श्रेणी : BANNER

4 months
Pradeep Sah
1.6kViews
1276 Shares

बीरगन्ज,२९ वैशाख । बीरगन्ज महानगरपालिकाले सार्वजनिक स्थानहरूमा अव्यवस्थित रूपमाका सवारी साधन र संरचना हटाउने अभियानलाई तीव्र बनाएको छ। वर्षौंदेखि सडक, फुटपाथ, चोक, पार्क र बसपार्क जस्ता स्थानहरूमा बेवारिसे रूपमा थन्काइएका साधन तथा सामग्रीहरूले नगरको सौन्दर्य र आवागमनमा बाधा पुर्‍याइरहेको भन्दै महानगरले ती हटाउने कार्यलाई प्राथमिकतामा राखेको हो।

अभियान अन्तर्गत सोमबार जगरनाथपुर वडा नम्बर २२ मा फुटपाथमा झण्डै दुई वर्षदेखि थन्किएको पुरानो रोलर हटाइएको छ। नगर प्रहरी र सरसफाइ शाखाको टोलीले दुईवटा क्रेनको सहयोगमा उक्त रोलरलाई ट्रकमा लोड गरी डम्पिङ साइटमा पुर्‍याएको हो। सोही दिन बसपार्क क्षेत्रबाट निष्क्रिय अवस्थामा रहेका ११ वटा पुराना बस र ट्रक पनि हटाइएका छन्। यसअघि पनि महानगरले बुधबार त्यही क्षेत्रबाट दुईवटा बेवारिसे बस हटाएको थियो।

महानगर प्रमुख राजेशमान सिंहले सार्वजनिक सूचना मार्फत पटक–पटक आग्रह गर्दा पनि बेवारिसे सवारी हटाइएन, त्यसैले महानगरले बाध्य भएर ती सवारी तथा संरचना नियन्त्रणमा लिएको स्पष्ट पार्नुभयो। उहाँले भन्नुभयो, “यो शहर हाम्रो साझा घर हो। हामी सबैको सहकार्यमा वीरगंजलाई सफा, सुरक्षित र सुन्दर बनाउन सक्छौं।”

महानगरले अहिले ‘शून्य सहनशीलता’ नीति लागू गर्दै सार्वजनिक स्थलहरूमा हुने अतिक्रमण र लापरवाहीविरुद्ध कठोर कदम चाल्ने चेतावनी दिएको छ। यात्रु, पैदलयात्री, ट्राफिक प्रहरी, साना व्यवसायी, यातायात व्यवसायी र स्थानीय बासिन्दासँगको सहकार्यमा अभियानलाई अझ प्रभावकारी बनाउने योजना बनाइएको छ।

महानगरका अनुसार आगामी दिनमा अन्य वडाहरूमा रहेका यस्ता बेवारिसे तथा अव्यवस्थित सवारी साधन र संरचनाहरूलाई चरणबद्ध रूपमा हटाउँदै जानेछ। यो अभियानले वीरगंजको सडक क्षेत्रलाई खुला, सुरक्षित र व्यवस्थित बनाउँदै शहरको समग्र स्वरूपमा सकारात्मक परिवर्तन ल्याउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *