वीरगन्ज :

खानेपानीलाई उच्च प्राथमिकतामा राखेर आगामी बजेटमा पर्याप्त विनियोजन हुने मन्त्री यादवको घोषणा

श्रेणी : BANNER

2 months
Pradeep Sah
2.2kViews
1661 Shares

बीरगन्ज,२८ वैशाख । खानेपानी, सरसफाइ तथा ढल निकास मन्त्री प्रदीप यादवले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमा देशभरका खानेपानी आयोजना उच्च प्राथमिकतामा रहने बताएका छन्। पर्साको बीरगन्ज महानगरपालिका–१६, नागवामा शनिबार आयोजित ओभरहेड खानेपानी ट्यांकी शिलान्यास कार्यक्रममा बोल्दै मन्त्री यादवले आम नागरिकलाई शुद्ध, सुरक्षित र पर्याप्त पानी उपलब्ध गराउनु सरकारको पहिलो लक्ष्य भएको स्पष्ट गरे।

“पानी पनि गाँस, बास र कपडाजस्तै मानव जीवनको आधारभूत अधिकार हो,” मन्त्री यादवले भने, “हामी त्यो अधिकार सुरक्षित गर्न आज एउटा महत्वपूर्ण कदम अघि बढाएका छौं।”

उनका अनुसार सरकारले खानेपानीको पहुँच वृद्धि गर्दै स्थानीय तह र उपभोक्ताको सहलगानीमा एकीकृत रूपमा आयोजना सञ्चालन गर्ने योजना अघि सारेको छ।

नागवा खानेपानी ओभरहेड ट्यांकी आयोजनालाई १८ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ। मन्त्री यादवले आफैं अनुगमन गर्दै समयमै काम सम्पन्न गराउने प्रतिबद्धता जनाए। “मेरो क्षेत्रका जनतालाई प्रत्यक्ष लाभ पुग्ने आयोजनाको शिलान्यास गर्न पाउँदा गर्व लागिरहेको छ,” उनले भने।

नेपाल खानेपानी संस्थानका महाप्रबन्धक अर्जुनबाबु ढकालका अनुसार करिब ३ करोड ५० लाख रुपैयाँको लागतमा निर्माण सुरु भएको ट्यांकीबाट वडा नं. १५ र १६ का करिब ३,५०० घरधुरी लाभान्वित हुनेछन्।

कार्यक्रममा वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंह, विभिन्न वडाका जनप्रतिनिधिहरू, जसपा नेताहरू र स्थानीय समाजसेवीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *