
श्रेणी : प्रदेश
जनकपुर,२८ वैशाख । सुनसरीको दुहबी नगरपालिका–३ स्थित फुटानी चोकमा शनिबार बिहान भएको पिकअप भ्यान दुर्घटनामा प्रहरी सहायक निरीक्षक विरोध खतिवडाकोमृत्यु भएको छ। दुर्घटनामा सवारी चालक र उनकी किशोरी छोरी घाइते भएका छन्।
प्रहरीका अनुसार उदयपुरबाट दुहबीतर्फ घरेलु सामान लिएर जाँदै गरेको प्र.२–०१–००१ च ०२५१ नम्बरको भ्यान बिहान करिब ११:५० बजे अनियन्त्रित भई सडक किनारको फलामे रेलिङमा ठोक्किएको थियो। दुर्घटनामा जिल्ला प्रहरी कार्यालय उदयपुरमा कार्यरत ३० वर्षीय विरोध खतिवडा गम्भीर घाइते भएका थिए।
घाइते अवस्थामा विराटनगरस्थित विराट टिचिङ अस्पताल लगिएको भए पनि उपचारको क्रममा १२:२१ बजे उनको मृत्यु भएको हो। खतिवडा त्रियुगा नगरपालिका–८, राजाबासका बासिन्दा हुन् र हाल नारायणहिटी सुरक्षा गारद गुल्म, काठमाडौंबाट उदयपुरमा खटिएका थिए।
दुर्घटनामा भ्यान चालक चौदण्डीगढी नगरपालिका–६ का ३८ वर्षीय सुरेश कार्की र उनकी १४ वर्षीया छोरी रोजिना कार्की पनि घाइते भएका छन्। सुरेश कार्कीको टाउको, छाती र शरीरका अन्य भागमा चोट लागेका छन् भने उनकी छोरी रोजिना खतरामुक्त रहेको प्रहरीले जानकारी दिएको छ।


प्रतिक्रिया