वीरगन्ज :

फेटा गाउँपालिकाको विद्युत् टेन्डर प्रकरण : तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

श्रेणी : BANNER

10 months
Pradeep Sah
2.6kViews
1633 Shares

बीरगन्ज,२५ वैशाख । बारा जिल्लाको फेटा गाउँपालिकामा विद्युत् पोल गाड्ने र तार तान्ने ठेक्कासम्बन्धी टेन्डर प्रक्रिया गोप्य राखिएको आरोपमा तीन जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मङ्गलबार पूर्वप्रमुख प्रशासकीय अधिकृत गौरीशंकरकुमार सिंह, लेखा अधिकृत मुकेशप्रसाद साह र नेपाल मिडिया हाउस प्रा.लि. का निर्देशक नवराज निरौलाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो।

२०७९/८० आर्थिक वर्षमा गाउँपालिकाले सुरु गरेको विद्युत् पोल र तारसम्बन्धी कार्यको टेन्डर प्रक्रिया राष्ट्रियस्तरको पत्रिकामा सार्वजनिक गर्नुपर्ने प्रावधान विपरीत काम भएको अख्तियारले जनाएको छ। आरोप अनुसार, प्रक्रिया पूरा नगरी टेन्डरको सूचना केही प्रति मात्रको सौर्य दैनिकमा देखिने गरी प्रकाशित गरिएको थियो — त्यो पनि सार्वजनिक पहुँच बाहिर राखी अभिलेखमा देखाउने मात्र प्रयोजनका लागि।

यसरी प्रक्रिया छलेर एक लाख ४२ हजार १६० रुपैयाँ रकम भुक्तानी दिइएको पुष्टि भएको अख्तियारले जनाएको छ।

अख्तियारका अनुसार मिडिया हाउसका निर्देशक निरौलाले तत्कालीन अधिकारीहरूसँग मिलेमतो गरी सूचना लुकाएर पैसा असुली गरेका हुन्। त्यसैले उनलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २२ बमोजिम ‘मतियार’ को हैसियतमा मुद्दा चलाइएको छ।

तीनै जनालाई ऐनको दफा ८ अनुसार कैद सजाय र बिगोबमोजिमको जरिवाना मागदाबी सहित विशेष अदालतमा मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए।

सार्वजनिक खरिद ऐन २०६३ ले स्पष्ट रूपमा बोलपत्र सार्वजनिक सूचना मार्फत सम्पूर्ण प्रतिस्पर्धीलाई जानकारी दिने प्रावधान राखेको छ। तर यस प्रकरणमा सूचना सीमित संख्यामा मात्रै छापेर साजिशपूर्वक प्रक्रिया लुकाइएको अख्तियारको ठहर छ। साभार प्रतिक दैनिक

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *