वीरगन्ज :

धितोपत्र बोर्डमा अख्तियारको छापा, अनुसन्धान सुरु

श्रेणी : BANNER

2 months
Pradeep Sah
2.7kViews
1080 Shares

काठमाडौं,२५ वैशाख । जलविद्युत् प्रवर्द्धकहरूबाट प्राथमिक सेयर (IPO) निष्कासनको प्रक्रियामा ५–७ प्रतिशतसम्म कमिसन मागिएको गम्भीर आरोप सार्वजनिक भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल धितोपत्र बोर्ड (सेबोन) मा छापा मारी अनुसन्धान थालेको छ।

बुधबार बिहान ११:३० बजेतिर अख्तियारको तीन सदस्यीय टोली ललितपुरस्थित बोर्ड कार्यालयमा पुगेर दिनभर कागजातको अध्ययन गरेको थियो। टोलीले पछिल्ला पाँच महिनामा अनुमति लिएका वा प्रक्रियामा रहेका कम्पनीका फाइलहरू जाँचबुझ गरेको र केही कागजात नियन्त्रणमा लिएको बोर्ड स्रोतले जनाएको छ।

जलविद्युत् प्रवर्द्धकहरूको छाता संस्था इप्पान ले मंगलबार आयोजित कार्यक्रममा बोर्डले बिचौलियामार्फत कमिसन मागेको गुनासो सार्वजनिक गरेपछि अनुसन्धान सुरु गरिएको हो। इप्पानले बोर्डका कारण २२ महिनासम्म ८९ वटा कम्पनीको आईपीओ प्रक्रिया रोकिएको दाबी गर्दै छानबिनको माग गरेको थियो।

बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले भने आरोपमा कुनै तथ्य नरहेको र प्रमाण भए देखाउन चुनौती दिएका छन्। तर, इप्पानले प्रवर्द्धकहरूले आफूहरूसमक्ष कमिसन मागिएको जानकारी दिएको दाबी गर्दै छ। अध्यक्ष श्रेष्ठ र इप्पान प्रतिनिधिबीच बुधबार नै छलफल पनि भएको थियो।

अख्तियारले प्रारम्भिक अध्ययनमा “कैयौं कैफियतहरू” भेटिएको भन्दै अब यस विषयमा सूक्ष्म अनुसन्धान हुने बताएको छ। संसद्मा पनि यो विषय गम्भीर रूपमा उठेको छ। प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका सांसद माधव सापकोटाले संसदमै छानबिनको माग गर्दै रुलिङको प्रस्ताव गरेका छन्।

यस प्रकरणले जलविद्युत् क्षेत्रमा लगानी गर्ने वातावरणमा गम्भीर प्रश्न खडा गरिदिएको छ। इप्पानले यस्तो स्थितिमा आन्दोलनसम्म जानुपर्ने अवस्था आउन सक्ने चेतावनी पनि दिएको छ।

आईपीओ रोकिएपछि झन्डै २५ अर्ब रुपैयाँ सर्वसाधारणबाट संकलन हुन नसकेको र ५ अर्ब जति ब्याज व्यर्थमा तिर्नु परेको गुनासो प्रवर्द्धकहरूको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *