बीरगन्ज,२१ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध दायर गरिएको मुद्दाको अध्ययन पर्सा सरकारी वकिलको कार्यालयले गर्न थालेको छ। एक हप्ताभन्दा बढी समयदेखि सरकारी वकिलको कार्यालयले उक्त मुद्दामाथि अध्ययन गर्दै आएको जानकारी दिइएको छ।
पर्सा जिल्ला प्रहरी कार्यालयले गत शुक्रबार लामिछानेविरुद्धको मुद्दा सरकारी वकिलको कार्यालयमा बुझाएको थियो। प्रहरीले लामिछानेविरुद्ध ठगी र संगठित अपराधको आरोपमा कारबाहीको माग गर्दै प्रतिवेदन बुझाएको थियो।
जिल्ला न्यायाधिवक्ता भोलानाथ निरौलाका अनुसार, यो मुद्दाको फाइल अत्यन्त ठूलो भएकोले अझै अध्ययनको प्रक्रिया जारी छ। “प्रहरीले ४१ जनालाई प्रतिवादी बनाएको फाइल निकै ठूलो छ, त्यसकारण अध्ययन पूरा गर्न समय लागिरहेको छ,” उनले भने। निरौलाले अनुमान व्यक्त गर्दै भने, “करिब एक हप्ता थप समय लाग्न सक्छ अध्ययन पूरा गर्न।”
पर्सा प्रहरीले उक्त मुद्दामा ३० जना व्यक्तिहरु, तीनवटा सहकारी संस्था र आठ वटा कम्पनीलाई प्रतिवादी बनाएको छ। प्रहरी प्रतिवेदनमा कुल २ अर्ब ३० करोड १४ लाख २९ हजार ८ सय २९ रुपैयाँको बिगो माग गरिएको छ।
फाइलको अध्ययन पूरा भएपछि अदालतमा अभियोजन प्रक्रिया सुरु हुने बताइएको छ।
प्रहरीका अनुसार, कम्पनी र व्यक्तिहरूको उत्तरदायित्वमा १ अर्ब १२ करोड ६५ लाख २६ हजार ३९५ रुपैयाँको दाबी गरिएको छ। त्यस्तै, स्वर्ण लक्ष्मी बहुउद्देश्य सहकारी संस्थासँग १ अर्ब १५ करोड ९१ लाख ४४ हजार, सूर्यदर्शन सहकारी संस्थासँग १ करोड २० लाख, र आसा एण्ड इन्टरनेशनल प्रालिसँग ३७ लाख ९० हजार ३७९ रुपैयाँ फिर्ता गर्नुपर्ने माग गरिएको छ।
संसदीय छानबिन समितिको निर्देशनमा यो मुद्दा दर्ता गरिएको थियो, र पर्सा प्रहरीले अनुसन्धान सुरु गरेको हो। लामिछाने र उनका अन्य साथीहरूको खिलाफ सानो पाइला बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन गरेको आरोपमा मुद्दा दर्ता गरिएको थियो।
प्रहरीका अनुसार, पहिलो चरणमा साउन २१, भदौ र फागुन महिनामा क्रमशः ५२, २०७ र १७९ जनाले सानो पाइलाबाट रकम अपचलनको आरोपमा प्रतिवादी जाहेरी दर्ता गराएका थिए।
प्रतिक्रिया