वीरगन्ज :

कक्षा १२ को परीक्षा आजदेखि देशभर सुरु, पाँच लाखभन्दा बढी विद्यार्थी सहभागी

श्रेणी : BANNER

1 year
Pradeep Sah
3.1kViews
1278 Shares

काठमाडाैं,२१ वैशाख । देशभरका परीक्षा केन्द्रहरूमा आज बिहानदेखि कक्षा १२ को वार्षिक परीक्षा एकैसाथ सुरु भएको छ। राष्ट्रिय परीक्षा बोर्डका अनुसार सबै तयारी पूरा भइसकेको छ र परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन भइरहेको छ।

बोर्डका अध्यक्ष महाश्रम शर्माले परीक्षाको सम्पूर्ण तयारी सम्पन्न भएको जनाउँदै सबै विद्यार्थीलाई निर्धक्क भएर परीक्षा दिन आग्रह गरेका छन्। आगामी जेठ २ गतेसम्म चल्ने यो परीक्षाका लागि देशभर १,५९० परीक्षा केन्द्र र जापानमा थप १ परीक्षा केन्द्रसहित कुल १,५९१ केन्द्र तोकिएको छ।

काठमाडौँमा सबैभन्दा बढी १६२ परीक्षा केन्द्र रहेका छन् भने मनाङ र मुस्ताङमा एक–एक केन्द्र निर्धारण गरिएको छ।

परीक्षामा देशभरबाट नियमिततर्फ करिब ३ लाख ९५ हजार विद्यार्थी र आंशिकतर्फ १ लाख १५ हजार परीक्षार्थी सहभागी हुँदै छन्। कुल परीक्षार्थीको संख्या ५ लाख ११ हजार ५२५ रहेको बोर्डले जनाएको छ।

सबैभन्दा धेरै परीक्षार्थी काठमाडौँबाट ६८ हजार १३३ जना रहेका छन् भने सबैभन्दा कम परीक्षार्थी मनाङबाट ४५ जना मात्र सहभागी हुँदै छन्।

विशेष आवश्यकताका परीक्षार्थी, जस्तै कम दृष्टि, सुस्त मनस्थिति, वा शारीरिक अपाङ्गता भएका विद्यार्थीका लागि विशेष व्यवस्था गरिएको परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले जानकारी दिए। त्यस्तै, कारागार र बाल सुधारगृहमा रहेका विद्यार्थीका लागि पनि परीक्षा दिने व्यवस्था मिलाइएको छ।

सुरक्षालाई ध्यानमा राख्दै परीक्षा केन्द्रहरूमा २० हजार सुरक्षाकर्मी खटाइएको छ भने केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, कर्मचारी र सहयोगी गरी आवश्यक मानव संशाधन परिचालन गरिएको छ।

परीक्षामा मोबाइल फोन, स्मार्ट घडी, वा अन्य विद्युतीय उपकरण लैजान पूर्ण निषेध गरिएको छ। अपवादस्वरूप, केवल लोडेड डकुमेन्ट नभएको क्याल्कुलेटर प्रयोग गर्न मिल्ने व्यवस्था छ। परीक्षा केन्द्रभित्र प्रतिबन्धित सामग्रीसहित फेला परेमा शिक्षा ऐन, २०२८ अनुसार कारबाही गरिनेछ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *