
श्रेणी : मधेस
वीरगन्ज,१८ बैशाख । पर्सा जिल्लामा खाना पकाउने एलपी ग्याँस विक्रेताहरूले सरकारद्वारा तोकिएको मापदण्ड नअपनाई ग्याँस सिलिन्डर बिक्री गर्दै आएको पाइएको छ। तौल मेशिन, बीमा कार्ड र बिलजस्ता अनिवार्य व्यवस्थालाई बेवास्ता गर्दै ग्याँसको कारोबार चलिरहेको उपभोक्ता हित संरक्षण मञ्चले जनाएको छ।
मञ्चका उपाध्यक्ष अजय अधिकारीले मापदण्ड नपु¥याई बिक्री गरिएको सिलिन्डरबाट दुर्घटना भएमा बीमा कार्ड नभएकाले उपभोक्ताले क्षतिपूर्ति पाउन नसक्ने बताए। उनका अनुसार कम्पनी, विक्रेता र उपभोक्ता सबैको लापरवाहीका कारण अनियमितता कायमै छ।
मनोज ग्याँसका सञ्चालक मनोज दासले कम्पनीबाट सही तौलमा सिलिन्डर पठाइने दाबी गरे पनि सबै विक्रेताले मापदण्ड पालना नगरेको स्वीकार गरे। उनले उपभोक्ताको लापरवाहीले पनि सुधार आउन नसकेको बताए।
एलपी ग्याँस विक्रेता सङ्घ पर्साका अध्यक्ष वीरेन्द्र साहले जिल्लामा करिब २५० विक्रेता रहेकामा आधा मात्र सङ्घमा आबद्ध रहेको बताए। उनका अनुसार ग्यास सिलिन्डरमा तौल उल्लेख हुने गरे पनि धेरैले तौल मेशिन नराखेको र उपभोक्ताले पनि बिल र बीमा कार्ड माग नगरेको कारण अनियमितता बढेको हो।
सिलिन्डरमा तौल कम रहेको गुनासो पनि बढिरहेको छ। रानीघाटका एक उपभोक्ताले चार किलो ग्याँस कम रहेको उजुरी दिएपछि विवाद उत्पन्न भएको थियो। विक्रेताले भने बदनाम गर्न नियोजित आरोप लगाइएको दाबी गरेका छन्।
यता केही विक्रेताहरूले सिल खोलेर ग्याँस झिक्ने, पुनः सिल गरेर उपभोक्तालाई बेच्ने जस्ता कार्य गरिरहेको आरोप पनि लागेको छ। कम्पनी र सङ्घका पदाधिकारीहरूले यस्ता गतिविधिलाई कारबाहीको दायरामा ल्याउन सम्बन्धित निकायलाई आग्रह गरेका छन्।


प्रतिक्रिया