वीरगन्ज :

विदेशबाट फर्किएकी महिला शंकास्पद अवस्थामा मृत फेला, हत्या कि आत्महत्या?

श्रेणी : अपराध

3 months
Pradeep Sah
1.6kViews
1097 Shares

रुपन्देही,१८ वैशाख । विदेशबाट फर्केको एक सातामै रुपन्देहीको कञ्चन गाउँपालिकामा एक महिला शंकास्पद अवस्थामा मृत फेला परेकी छन्। कुवेतबाट फर्किएकी कञ्चन–४ थकालीचोककी ४५ वर्षीया धनमाया विक स्थानीय विनोद विकको घरमा झुन्डिएको अवस्थामा फेला परेकी हुन्।

इलाका प्रहरी कार्यालय सालझण्डीका अनुसार धनमाया फलामे भर्याङको चौथो खुड्किलोमा कपडाको पासो लगाई झुण्डिएको अवस्थामा भेटिइन्। तर शवको अवस्था र घटनास्थलको प्रकृति आत्महत्याभन्दा हत्या गरेर झुन्ड्याइएको हुनसक्ने आशंका स्थानीयवासी र मृतकका आफन्तले व्यक्त गरेका छन्।

एक खुट्टा भुइँमा टेकेको र अर्को लत्रिएको अवस्थामा शव फेला परेकोले घटना झन् शंकास्पद बनेको हो। मृतकका भिनाजु झविलाल विकका अनुसार धनमाया र घरधनी विनोदबीच केही समयदेखि निकटता थियो। विदेशमा रहँदा धनमायाले विनोदलाई बाइक र सम्बन्धविच्छेदका लागि आर्थिक सहयोग गरेकी थिइन्। “उनीहरूबीच लेनदेनमा विवाद थियो, पैसा फिर्ता नपाउँदा धनमायाले पटक–पटक धम्कीसमेत दिएकी थिइन्,” भिनाजु विकले भने।

विनोद स्वयं पूर्व प्रहरी हवल्दार हुन् र अहिले एनआइसी बैंक रुद्रपुर शाखामा सुरक्षा गार्डको रूपमा कार्यरत छन्। उनले बिहीबार बिहान ६ बजे प्रहरीलाई ‘एक महिला झुण्डिएको’ जानकारी दिएका थिए। त्यसलगत्तै प्रहरीले घटनास्थलमा पुगेर शव बरामद गरेको हो।

धनमायाको यसअघि पाल्पाका राजन सुनारसँग विवाह भएको थियो तर सम्बन्ध विच्छेदपछि उनी माइतीतिर फर्किएकी थिइन्। उनको सन्तान थिएन। विदेश बसाइबाट फर्किएपछि आर्थिक रूपमा आत्मनिर्भर थिइन्। विनोद भने दुई विवाह गरिसकेका छन्। पहिलो पत्नीबाट एक छोरी र दोस्रो पत्नीबाट दुई छोरी छन्। हाल दोस्रो पत्नीबाट सम्बन्धविच्छेदको प्रक्रियामा रहेका उनी पनि एकल जीवनमै थिए।

प्रहरीले शव पोस्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाएको छ र घटनाको विस्तृत अनुसन्धान भइरहेको जनाएको छ। मृतकको परिवारले घटनाको निष्पक्ष छानबिन र दोषीउपर कारबाहीको माग गरेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *