
श्रेणी : अर्थ
बीरगन्ज,१६ वैशाख । पर्सा जिल्लाको पोखरियामा स्थापना भएको मालपोत कार्यालयले छोटो समयमा नै उल्लेखनीय उपलब्धि हासिल गरेको छ। संचालनमा आएको दुई महिनामै कार्यालयले ५८ लाख १४ हजार ४ सय ६० रुपैयाँ राजस्व संकलन गरेको छ।
मालपोत कार्यालय पोखरियाका सूचना अधिकारी रामरेखा प्रसाद चौरसियाका अनुसार हालसम्म १९० वटा फाइल प्रक्रिया सम्पन्न गरिएको छ। तीमध्ये १४ वटा संशोधन, ५१ दाखिला खारिज, ४७ साविक फाइल, र ७८ वटा नामसारी फाइल रहेका छन्, जसबाट ६ लाख ७५ हजार ५ सय रुपैयाँ राजस्व उठाइएको हो।
त्यस्तै, फागुन महिनामा ५५३ वटा फाइलबाट ९ लाख ६३ हजार ९ सय ७८ रुपैयाँ, चैतमा २० लाख ६९ हजार ४ सय ८२ रुपैयाँ र वैशाख १४ गतेसम्ममा १५ लाख ५ सय रुपैयाँ राजस्व संकलन गरिएको छ। दृष्टिकबन्धक रोका सम्बन्धी ४४९ वटा फाइलबाट मात्रै ६ लाख ५ हजार रुपैयाँ राजस्व उठेको चौरसियाले बताए।
गत फागुन १५ गतेदेखि औपचारिक रुपमा सेवा दिन थालेको पोखरिया मालपोत कार्यालयले छोटो समयमै सेवाग्राहीहरूको विश्वास जितेको दाबी गर्दै, कार्यालय प्रमुख रामजी साहले सेवा सरल र प्रभावकारी रूपमा प्रदान भइरहेको र सेवाग्राही सन्तुष्ट रहेको जानकारी दिए।


प्रतिक्रिया