
श्रेणी : अपराध
बीरगन्ज,१४ वैशाख । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले बाराको कलैयामा सञ्चालनमा रहेका मापदण्डविहीन १२ वटा निजी अस्पताल तथा क्लिनिक तत्काल बन्द गर्न आदेश दिएका छन्।
शनिबार गरिएको अनुगमनपछि ती अस्पतालहरू बिना अनुमति र स्वास्थ्य मापदण्डको उल्लंघन गर्दै सञ्चालन भएको पाइएको थियो। मुख्यमन्त्री सिंहले अनुगमनकै क्रममा सम्बन्धित निकायलाई ती स्वास्थ्य संस्थाहरूलाई तत्काल बन्द गराउन निर्देशन दिएका हुन्।
बन्द गर्न भनिएका अस्पतालहरूमा योगशीला हस्पिटल, सब मेट्रोसिटी हस्पिटल, कलैया हस्पिटल, समाज प्रसुति तथा जेनेरल हस्पिटल, राजलक्ष्मी रिलिफ हस्पिटल, रारा हस्पिटल, राजकुमारी पोलि क्लिनिक, न्यु जीवन ज्योति डेन्टल क्लिनिक, राम हेल्थ क्लिनिक, कृष्णा डेन्टल क्लिनिक, स्टार डेन्टल क्लिनिक र आर्शिवाद अस्पताल रहेका छन्।
मधेस प्रदेश स्वास्थ्य मन्त्रालयका जनस्वास्थ्य अधिकृत सन्तोष कुमार ठाकुरका अनुसार, ती अस्पतालहरूलाई बन्द गर्न औपचारिक रूपमा लिखित सूचना दिइसकिएको छ।
मुख्यमन्त्रीको सचिवालयले भनेको छ, “केवल स्थानीय तहको अनुमति लिई १५ शय्याका अस्पतालहरू सञ्चालन गर्नु स्वास्थ्य मापदण्डको गम्भीर उल्लंघन हो, त्यसैले तुरुन्त कारबाही गरिएको हो।”
प्रदेश सरकारले स्वास्थ्य सेवाको गुणस्तर कायम राख्न सबै निजी अस्पताल र क्लिनिकहरूलाई नियमन गर्ने प्रक्रिया कडाइका साथ अघि बढाउने स्पष्ट संकेत यस कदमबाट देखिएको छ।


प्रतिक्रिया