वीरगन्ज :

पर्साका कार्यालयहरूले पुँजीगत बजेट खर्च गर्न नसक्दा निर्माण कार्य प्रभावित

श्रेणी : अर्थ

1 year
Pradeep Sah
2.7kViews
1701 Shares

वीरगन्ज,०८ बैशाख । पर्साका सरकारी कार्यालयहरूले चालु आर्थिक वर्षमा विकास निर्माणका लागि विनियोजित पुँजीगत बजेटको मात्र २७.९६ प्रतिशत मात्र खर्च गरेका छन्। कुल रु २ अर्ब ७३ करोडको पुँजीगत विनियोजनमध्ये चैत मसान्तसम्म रु ७६ करोड ६० लाख मात्र खर्च भएको कोष तथा लेखा नियन्त्रक कार्यालय पर्साले जनाएको छ।

प्रमुख कोष नियन्त्रक मनोजकुमार जोशीका अनुसार अपेक्षित रूपमा बजेट खर्च हुन नसक्दा विकास निर्माणका काममा ढिलाइ भएको छ। “अब आ.व. सकिन तीन महिनाभन्दा कम समय बाँकी छ,” जोशीले भने, “सङ्घीय सरकारको औसत खर्चका तुलनामा पर्सामा खर्चको अवस्था कमजोर छ।”

यसैबीच, चालु खर्चतर्फ भने सुधार देखिएको छ। चालु वर्षका लागि विनियोजित रु १० अर्ब ६२ करोडमध्ये ६४.८९ प्रतिशत अर्थात् रु ६ अर्ब ८९ करोड खर्च भइसकेको छ। साथै, चैत मसान्तसम्म पर्साका कार्यालयहरूले रु १ खर्ब ६१ करोड राजस्व संकलन गरेका छन्, जुन गत वर्षको सोही अवधिको तुलनामा करिब रु १० करोडले बढी हो।

पर्सामा हाल करिब ६० भन्दा बढी सङ्घीय सरकार मातहतका कार्यालय सञ्चालनमा छन्। विकास र पूर्वाधार निर्माणमा तीव्रता दिन अबको केही महिनालाई निर्णायक मानिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *