
श्रेणी : BANNER
जनकपुर,०७ वैशाख । प्रदेश सरकारबाट पठाइएको विकास योजनाको चिठ्ठी सम्बन्धित वडा कार्यालयमा नपुगेको भन्दै सप्तरीका दुई सरकारी कार्यालयमा तालाबन्दी गरिएको छ। शिक्षा विकास कार्यालय सप्तरीमा आइतबार नागरिक उन्मुक्ति पार्टी र स्थानीय नेताहरूको अगुवाइमा तालाबन्दी गरिएको हो।
नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय सचिव तुलसी थारुले जनकपुरबाटै चिठ्ठीहरू ‘कमिशनमा बिक्री’ भएको आरोप लगाउँदै भने, “विकास योजनाका अधिकांश चिठ्ठीहरू जनकपुरमै पैसाको लेनदेनमा बिकेका छन्, बाँकी चिठ्ठीहरू पनि व्यक्तिगत लाभका लागि किनबेच हुँदैछन्, त्यसविरुद्ध हामीले तालाबन्दी गरेका हौं।”
थारु कल्याणकारिणी सभाका जिल्ला सचिव मिलन लेखीले विद्यालय जस्तो संवेदनशील क्षेत्रमा पनि राजनीतिक हस्तक्षेप बढ्दै गएको बताउँदै भने, “राजनीतिक दलकै कारण शिक्षाको स्तर खस्कँदै गएको छ, हामी बाध्य भएर तालाबन्दीमा उत्रिएका हौं।” उनले प्रदेश सरकारले दिएको बजेट समयमै प्रयोग नहुन सक्ने भन्दै चिन्ता व्यक्त गरे।
यसअघि चैत २९ मा पनि खेलकुद तथा समाज कल्याण मन्त्रालयअन्तर्गतको सामाजिक विकास इकाइ कार्यालय सप्तरीमा तालाबन्दी गरिएको थियो। जनमत पार्टीका नेता तथा पूर्वमन्त्री महेश प्रसाद यादवको नेतृत्वमा गरिएको त्यस तालाबन्दीमा कार्यालय प्रमुखले जनकपुरमै योजनाका चिठ्ठीहरू ‘बिक्री गरेको’ आरोप लागेको थियो।
नेता यादवले भनेका थिए, “कार्यालय प्रमुखले योजना बेच्ने बदमासी गर्छन्, तर आरोप सांसदहरूले खेप्नुपर्छ। अबदेखि चिठ्ठी वितरण सम्बन्धित कार्यालयमार्फत पारदर्शी ढंगले हुनुपर्छ।”


प्रतिक्रिया