वीरगन्ज :

बीरगन्जमा शान्ति र सद्भाव कायम राख्न बीरगन्ज उद्योग वाणिज्य संघको अपिल

श्रेणी : मधेस

3 months
Pradeep Sah
1.8kViews
1233 Shares

बीरगन्ज,०३ वैशाख । पछिल्लो समय वीरगन्जमा देखिएको असहज परिस्थितिप्रति गम्भीर चासो व्यक्त गर्दै वीरगन्ज उद्योग वाणिज्य संघले सबै पक्षलाई शान्ति, सद्भाव र संयमता कायम राख्न आग्रह गरेको छ।

बुधबार जारी एक प्रेस विज्ञप्तिमा संघले हनुमान जन्मोत्सवको शोभायात्रामा भएको झडपपछिको अवस्था प्रति चिन्ता जनाउँदै वीरगन्जको समुन्नति र स्थायित्वका लागि सबै पक्षले संयमित र जिम्मेवार भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएको छ।

संघका अध्यक्ष हरि गौतमले “सर्व धर्म समभाव” को भावना जगाउँदै सामाजिक सद्भावलाई अझ सुदृढ बनाउँदै लैजान सबै नगरवासीको साझा दायित्व रहेको उल्लेख गर्दै भने, “समाज समुन्नत बनाउन शान्ति अनिवार्य हो, र वीरगन्जलाई समृद्ध बनाउने बाटो यही सद्भावबाट मात्रै खुल्छ।”

विज्ञप्तिमा आर्थिक दृष्टिले मुलुकको महत्वपूर्ण केन्द्रको रुपमा रहेको वीरगन्ज पछिल्ला केही वर्षदेखि मधेस आन्दोलन, कोभिड-१९ जस्ता संकटबाट प्रभावित हुँदै आएको र विस्तारै सुधारको संकेत देखिँदै गर्दा पुनः सामुदायिक तनावको अवस्था सिर्जना हुनु दुःखद र चिन्ताजनक भएको उल्लेख गरिएको छ।

“अहिले वीरगन्जको उद्योग, व्यापार र समग्र आर्थिक वातावरण विस्तारै गति लिन थालेको अवस्थामा यस्तो असहज परिस्थिति उत्पन्न हुनु केवल आर्थिक क्षेत्रमा मात्र होइन, सामाजिक सद्भावका दृष्टिले पनि गम्भीर चुनौती हो,” विज्ञप्तिमा भनिएको छ।

संघले वीरगन्जलाई शान्त, समुन्नत र सुसंस्कृत बनाइराख्न सबै राजनीतिक, सामाजिक र नागरिक पक्षबीच सहकार्य र समझदारी आवश्यक रहेको भन्दै, नगरवासीहरूलाई संयमता र सजगता अपनाउन विशेष अनुरोध गरेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *