वीरगन्ज :

पथलैयास्थित राजस्व अनुसन्धान कार्यालयद्वारा दुई कम्पनीविरुद्ध मुद्दा दायर

श्रेणी : अर्थ

4 months
Pradeep Sah
2.0kViews
1520 Shares

बीरगन्ज,१४ चैत । ५ करोडभन्दा बढी राजस्व चुहावटको आरोपमा पथलैयास्थित राजस्व अनुसन्धान कार्यालयले दुई कम्पनीविरुद्ध उच्च अदालत जनकपुरको अस्थायी इजलास बीरगन्जमा मुद्दा दायर गरेको छ।

राजस्व अनुसन्धान कार्यालयका प्रमुख अनुसन्धान अधिकृत हरिप्रसाद शर्माका अनुसार अमायरा वस्त्रालयका सञ्चालक चन्दन गुप्ता र शिवशान्ति कन्स्ट्रक्सनका सञ्चालक सञ्जयकुमार कुर्मीविरुद्ध राजस्व चुहावटको अभियोग लगाइएको हो।

अमायरा वस्त्रालयका सञ्चालक चन्दन गुप्ताले कपडाको कारोबार गर्दा विधिवत् बिल जारी नगरी गलत विवरण पेश गरेको आरोप लागेको छ। अनुसन्धानका क्रममा आयकरतर्फ १ करोड ६५ लाख ६० हजार ५९३ रुपैयाँ र मूल्यअभिवृद्धि करतर्फ ५८ लाख ३७ हजार ६८३ रुपैयाँ बराबरको राजस्व चुहावट भएको पुष्टि भएको छ। यसरी कूल २ करोड २३ लाख ९८ हजार २७६ रुपैयाँ बिगो कायम गर्दै गुप्ताविरुद्ध चार करोड ४७ लाख ९६ हजार ५५३ रुपैयाँ जरिवाना तथा कैद सजायको मागसहित मुद्दा दायर गरिएको छ।

त्यस्तै, बीरगन्ज महानगरपालिका–१६ का सञ्जयकुमार कुर्मीले सञ्चालन गरेको शिवशान्ति कन्स्ट्रक्सनले दोहोरो रसिदमार्फत कारोबार गरी राजस्व छलिकाे आरोप छ। कुर्मीविरुद्ध १९ लाख ६० हजार १५१ रुपैयाँ आयकर र १० लाख ३९ हजार ६३ रुपैयाँ मूल्यअभिवृद्धि कर गरी कूल २९ लाख ९९ हजार २१४ रुपैयाँ बिगो कायम गरिएको छ। उनलाई शतप्रतिशत जरिवाना सहित ५९ लाख ९८ हजार ४२८ रुपैयाँ जरिवाना तथा कैद सजायको माग गर्दै अभियोगपत्र दायर गरिएको छ।

राजस्व अनुसन्धान कार्यालयका अनुसार हालसम्म अस्थायी इजलास वीरगञ्जमा राजस्व चुहावटसम्बन्धी ११ वटा र विदेशी विनिमय अपचलनसम्बन्धी आठ वटा मुद्दा दर्ता भइसकेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *