
श्रेणी : मधेस
बिरगंज, चैत ११ – “यसपालि सबैले हातेमालो गरौँ, क्षयरोग अन्त्य गरौँ” भन्ने नाराका साथ आज विश्व क्षयरोग दिवस जगरनाथपुर गाउँपालिकामा भव्य रूपमा सम्पन्न भयो। कार्यक्रममा महिला स्वास्थ्य स्वयंसेविका, स्थानीय जनप्रतिनिधिहरू, स्वास्थ्यकर्मी, सामाजिक अगुवा, पत्रकार, विद्यालयका विद्यार्थी तथा क्षयरोगीहरू लगायतको उल्लेखनीय उपस्थिति रहेको थियो।
स्वास्थ्य चौकी जगरनाथपुरको आयोजनामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि गाउँपालिका अध्यक्षले क्षयरोग नियन्त्रणका लागि स्थानीय सरकारको प्रतिबद्धता व्यक्त गरे। कार्यक्रममा क्षयरोगसम्बन्धी विभिन्न सचेतनामूलक गतिविधिहरू सञ्चालन गरियो, जसमा अन्तरक्रिया, सचेतनामूलक नाटक, प्रभातफेरी, बिरामी पहिचान तथा निःशुल्क स्वास्थ्य परीक्षण समावेश थिए।
विशेषगरी, क्षयरोगबारे जनचेतना अभिवृद्धि गर्नका लागि स्वास्थ्यकर्मीहरूले रोगको लक्षण, बच्ने उपाय, उपचार विधि, तथा सरकारी अस्पतालबाट निःशुल्क उपलब्ध उपचार सेवाबारे जानकारी गराए। कार्यक्रममा स्वास्थ्यकर्मीहरूले बताएअनुसार, क्षयरोग एक संक्रामक रोग भए पनि प्रारम्भिक अवस्थामा नै उपचार गरेमा पूर्ण रूपमा निको हुन सक्छ।
स्वास्थ्य चौकी प्रमुखका अनुसार, पछिल्लो खोज अभियानमा जगरनाथपुर गाउँपालिकामा हालसम्म ३४ जना क्षयरोगी पहिचान भई उपचार प्रक्रियामा छन्। क्षयरोगी पहिचान गरी उपचारको दायरामा ल्याउने अभियानलाई तीव्र बनाइएको छ। यस कार्यमा उत्कृष्ट योगदान पु-याउने स्वास्थ्य संस्थालाई सम्मान गरिएको थियो।
कार्यक्रममा सहभागी स्थानीय बासिन्दाहरूले क्षयरोगसम्बन्धी नयाँ जानकारी पाएको अनुभव सुनाए। स्वास्थ्यकर्मीहरूका अनुसार, समुदायको सहभागिता नै क्षयरोग नियन्त्रणमा प्रभावकारी हुने भएकाले सचेतनामूलक अभियानलाई निरन्तरता दिइनेछ।
स्थानीय तह, स्वास्थ्यकर्मी तथा स्वयंसेवकहरू मिलेर क्षयरोग उन्मूलनको अभियानलाई अझ प्रभावकारी बनाउन पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। कार्यक्रमले क्षयरोगबारे सचेतना जगाउने मात्र होइन, रोगीहरूलाई आवश्यक सहयोग प्रदान गर्न थप प्रेरणा दिएको सहभागीहरूको भनाइ छ।


प्रतिक्रिया